“प्रिय धादिङ, सधैँ सम्झिरहनेछु” – डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्य

408 पटक पढिएको

२१ कार्तिक २०८२, शुक्रबार २०:२४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ ।धादिङमा दुई वर्षभन्दा बढी समय डिभिजनल वन अधिकृतको जिम्मेवारी सम्हालेका विष्णु प्रसाद आचार्य चितवन डिभिजन वन कार्यालयमा सरुवा भएका छन्। धादिङबाट बिदा हुँदै गर्दा उनले सामाजिक सञ्जालमार्फत भावनात्मक विदाइ सन्देश सार्वजनिक गरेका छन्।

आचार्यले २०८० असोज २२ देखि २०८२ कात्तिक २० गतेसम्मको धादिङ बसाइलाई “खुला विश्व विद्यालय” जस्तै रहेको बताएका छन्। आफू अधिकृतभन्दा पनि “एक उत्सुक विद्यार्थी” को रूपमा धेरै सिक्न, अनुभव बटुल्न र जीवनका मूल्यवान् पाठ पाउन धादिङले भूमिका खेलेको उनले लेखेका छन्।

उनले गणेश हिमालको काखदेखि हार्चिपास, कालोदह, सेतोदह, बुकी फुल्ने चौरी पाटन, चिउरी पाक्ने र पारिजात फूल्ने जंगललाई “मेरा आँगन” का वन दृश्य भएको उल्लेख गरेका छन्।

बुढीगण्डकी किनारको नृसिंहधामदेखि पशुपतिनाथसम्मको भूगोल आफूले “कुद्ने मैदान” का रूपमा अनुभूत गरेको उनको भनाइ छ।

“रुख भनेका केवल कार्बनका कारखाना होइनन्”

धार्मिक वन, देब बाटिका, नक्षत्र बाटिका, ग्रह बाटिका जस्ता संरक्षण अभियानहरूमा काम गर्दा आफूले प्रकृतिलाई संस्कृति र सभ्यतासँग जोडेर हेर्न सिकेको आचार्यको टिप्पणी छ।
वर, पीपल, समी र पलाँसको फेदमा बसेर सुस्ताउँदाको अनुभव उनले भावनात्मक रूपमा व्यक्त गरेका छन्।

सालकलाई (प्याङ्गोलिन) “प्रिय मित्र”का रूपमा उल्लेख गर्दै उनले संरक्षणको लामो यात्रामा धादिङले आफूलाई बहुमूल्य प्रेरणा दिएको बताएका छन्।

“हामी सेवक हौँ, मालिक होइनौँ”

आचार्यले जनमुखी सेवा, वातावरण शिक्षा, विद्यालय–समुदायसँगको सहकार्य, वन संरक्षण योद्धासँगको अभियान र ‘पुटिंग द पिपल फस्ट’ भन्ने मन्त्रलाई उजागर गर्दै सदैव भुइँ मान्छेका पक्षमा लाग्ने जनमुखी अभियान नै हामि राष्ट्र सेवकको पहिलो र अन्तिम गन्तब्य हुनुपर्छ भन्ने बिषयलाई धादिङमै आत्मसात् गरेको बताएका छन्।
उनका अनुसार धादिङका बालबालिका, युवा, कर्मचारीदेखि स्थानीय नेतृत्व सबैले आफूलाई “मार्गदर्शक र सहयात्री” को रूपमा साथ दिएका थिए।

‘वाग्मती साहित्य उत्सव’ र सामुदायिक सहयोगको विशेष सम्झना

वाग्मती साहित्य उत्सवको संयोजनमा धादिङेले दिएको विश्वास ‘जुनि भरि नभुलिने ऋण’ रहेको उनले लेखेका छन्।
त्यस्तै, स्थानीय उपभोक्ता समूह, व्यवसायी, सञ्चारकर्मी तथा कर्मचारी सहकर्मीहरूप्रति उनले कृतज्ञता प्रकट गरेका छन्।

चितवनतर्फ प्रस्थान, गल्ती भए क्षमायाचना

“धादिङ सधैँ मेरो मानसपटलमा रहनेछ, रक्तकोषिकामा बहनेछ,” भन्दै आचार्यले धादिङप्रति आजीवन कृतज्ञता व्यक्त गरेका छन्।
देशको जुन कुनामा भए पनि अधूरा काम निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गर्दै उनले धादिङे आमाबुबा, साथी–भाइप्रति क्षमा मागेका छन्।

आचार्य अब नयाँ कार्यक्षेत्र चितवन डिभिजन वन कार्यालयमा काम गर्न जाँदै छन्।