चित्राफुङ्गा बोकेको भ्यान फुर्केखोला नजिकै परेवाटार मोडबाट पल्टियो

312 पटक पढिएको

२३ कार्तिक २०८२, आईतवार १३:५३ सम्पादक: धादिङ न्यूज

धादिङ -सदरमुकाम धादिङबेसीबाट चित्राफुङ्गा लिएर मलेखुतर्फ जाँदै गरेको एक योद्धा भ्यान मलेखु–धादिङबेसी सडकखण्डअन्तर्गत सिद्धलेक–६, परेवाटारस्थित अस्थायी प्रहरी पोष्ट नजिकैबाट दुर्घटनाग्रस्त भएको छ। तीव्र मोड पार गर्ने क्रममा भ्यान अचानक अनियन्त्रित भई करिब ५०–६० मिटर तल खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

दुर्घटनामा परि भ्यानका चालक र अर्का एक जना सामान्य घाइते भएका छन्। उनीहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि मलेखु पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटनास्थल सडकको जोखिमपूर्ण मोडमध्ये एक मानिने परेवाटार क्षेत्रमा विगतमा पनि साना–ठूला सवारी दुर्घटना हुने गरेको छ। मोडका कारण यहाँ दुर्घटनाको जोखिम उच्च रहने गर्छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।