बागमती प्रदेशको आर्थिक वृद्धि ५.२ प्रतिशत, अर्थतन्त्र २२ खर्ब नाघ्ने अनुमान

300 पटक पढिएको

२५ कार्तिक २०८२, मंगलवार १४:५८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २५ कार्तिक  – बागमती प्रदेशको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष २०८१/८२ मा ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत वर्ष यो दर ३.७ प्रतिशत मात्रै थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि विवरणअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रचलित मूल्यमा २२ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

प्रदेशको जीडीपीमा सेवा क्षेत्रको योगदान ७७.१ प्रतिशत रहेको छ भने कृषिको ११.८ प्रतिशतउद्योग क्षेत्रको ११.१ प्रतिशत योगदान रहने अनुमान छ। बागमती प्रदेशको समग्र आर्थिक संरचनामा थोक तथा खुद्रा व्यापार, सवारीसाधन मर्मत तथा बिक्री सेवाको हिस्सा सबैभन्दा बढी २२.६ प्रतिशत छ। त्यसपछि घरजग्गा तथा रियल-स्टेट १५.२ प्रतिशत, कृषि-वन-मत्स्य ११.८ प्रतिशत, वित्त तथा बीमा ११.२ प्रतिशत, यातायात तथा भण्डारण ९.३ प्रतिशतउत्पादनमूलक उद्योग ४.९ प्रतिशत रहने देखिन्छ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रारम्भिक अनुमाने अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २०८१/८२ मा ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने छ। यसमध्ये बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो अर्थात् ३६.५ प्रतिशत रहने अनुमान छ। सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ४.२ प्रतिशत मात्र छ।

बागमती प्रदेशको जनसङ्ख्या सघनता, संघीय राजधानीको उपस्थिति, उद्योग–धन्दाको बढी एकाग्रता तथा सेवा क्षेत्रका गतिविधि यही क्षेत्रमा केन्द्रित भएकाले मुलुकको समग्र जीडीपीमा यसको हिस्सा परम्परागत रूपमा नै उच्च रहने विश्लेषकहरूको भनाइ छ।