धादिङ उद्योग वाणिज्य संघको ३२औं साधारण सभा तथा ३४औं स्थापना दिवस धुमधामसँग सम्पन्न

271 पटक पढिएको

२८ कार्तिक २०८२, शुक्रबार ०६:४५ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ उद्योग वाणिज्य संघको ३२औं वार्षिक साधारण सभा तथा ३४औं स्थापना दिवस कात्तिक २७ गते विहीबार संघको सभाहलमा विशेष समारोहका साथ सम्पन्न भएको छ। संघका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उद्योग–व्यापार क्षेत्रका प्रतिनिधि, स्थानीय निकायका पदाधिकारी तथा सरोकारवाला निकायका अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको खुला सत्रमा बोल्दै महासंघका अध्यक्ष ढकालले प्रत्येक आन्दोलनका बेला उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि हुने तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे। जेन–जी समूहले पवित्र उद्देश्यसहित विद्रोह थाले पनि अवाञ्छित तत्वको घुसपैठले उद्योग–व्यापार क्षेत्रमा ठूलो क्षति पुगेको उनको भनाइ थियो। निजी क्षेत्र कर तिर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने मूल आधार भएकाले यसलाई कुनै पनि समूहको लक्ष्य बन्न नदिन उनले ध्यानाकर्षण गराए।

यसैगरी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्थानीय अर्थतन्त्र, रोजगारी र सेवा प्रवाहमा उद्योगी–व्यापारीको योगदान उल्लेखनीय रहेको बताउँदै उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएका गतिविधिमा जिल्ला प्रशासन कार्यालय धादिङ निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संघका अध्यक्ष रामकुमार डल्लाकोटीले आर्थिक विकासमा उद्योग–व्यापार क्षेत्रको अपरिहार्य भूमिकाको चर्चा गर्दै संघले सदस्यता प्रक्रिया खुला गर्दै अपनत्व बढाउँदै आएको जानकारी दिए। उनले संघको गतिविधि सबैमा पुर्‍याउन वेबसाइट निर्माण र सदस्यता डिजिटलाइजेसन थालिएको बताए। अधिवेशनको बेला मात्रै व्यवसाय नवीकरण ठेक्का लगाउने प्रवृत्ति अन्त्य गरी संघलाई पारदर्शी र पेशागत संस्थाको रूपमा उभ्याउने प्रयास जारी रहने उनको भनाइ थियो।

संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बूढीगण्डकी जलविद्युत आयोजना धादिङ मात्र होइन, देशको आर्थिक रूपान्तरणको आधार बन्न सक्ने परियोजना भएको उल्लेख गर्दै यसको निर्माण समयमै सम्पन्न गर्न सबै तहका निकाय गम्भीर र उत्तरदायी हुनुपर्नेमा जोड दिए। ढिलो भइरहने विकास आयोजना छिटो सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघको पहल अपरिहार्य रहेको उनले बताए।

समारोहको बन्द सत्रमा महासंचिव तिलक सिंखडा र कोषाध्यक्ष तिलक ढुंगानाले क्रमशः सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। छलफलपछि सभाले दुवै प्रतिवेदन अनुमोदन गरेको छ।