मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यरातमा पक्राउ

297 पटक पढिएको

२ मंसिर २०८२, मंगलवार ०६:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यरातमा पक्राउ गरेको छ। हिंसा भड्किने प्रकारका अराजक अभिव्यक्ति दिएको आरोपमा उनी भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रसाईंले ७ मंसिरदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका थिए। सोही आन्दोलनलाई लिएर हिंसा फैलिन सक्ने आशंका भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि ‘सार्वजनिक शान्ति भंग हुने कार्यमा संलग्न गरेको’ आरोपमा प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ परेका व्यक्ति हुन्। उनी विद्युतीय कारोबार ऐनलगायत विभिन्न मुद्दामा कानुनी प्रक्रियामा परेका थिए। १५ चैत २०८१ को हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनी अदालतको आदेशमा छुटेका थिए।

राजावादी गतिविधिमा सक्रिय भनिने प्रसाईं बैंक ऋण मिनाहा गर्नु पर्ने लगायतका माग राखेर आन्दोलनको तयारीमा रहेका थिए।

  यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो।