भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मंसिर २८–२९ मा भव्यतापूर्वक मनाइँदै
400 पटक पढिएको
धादिङ- गजुरी-६ जरेबगैंचामा अवस्थित भानुभक्त माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आगामी मंसिर २८ र २९ गते स्वर्ण जयन्ती महोत्सव भव्यताका साथ मनाउने तयारी गरेको छ। विद्यालयले पाँच दशकको गौरवपूर्ण शैक्षिक यात्रालाई विशेषरूपमा स्मरण गर्दै सांस्कृतिक, शैक्षिक र सम्मान कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागेको हो।
विद्यालयका अनुसार महोत्सवमा विद्यार्थी तथा शिक्षकहरूले प्रस्तुत गर्ने नृत्य, हाजिरी–जवाफ प्रतियोगिता, खेलकुद गतिविधि, पूर्व विद्यार्थी तथा समाजसेवीहरूसँग भेटघाट, सम्मान समारोह लगायतका कार्यक्रम मुख्य आकर्षण रहनेछन्। सो अवसरमा विद्यालयले आफ्नो ५० वर्षे इतिहास समेटिएको स्मारिका सार्वजनिक गर्ने र विद्यालयको दिगो विकासका लागि अक्षय कोष स्थापना गर्ने तयारी पनि गरेको छ। प्रधानाध्यापक षडानन्द सुवेदीका अनुसार स्वर्ण जयन्तीलाई सफल बनाउन विद्यालयसँग सम्बन्धित सबैको सक्रिय सहभागिता अपेक्षित रहेको छ।
विद्यालयले अक्षय कोष निर्माणका लागि सहयोग आह्वान गर्दै दाताहरूलाई योगदानअनुसार सम्मान गर्ने व्यवस्था गरेको छ। रु. ५०० सम्म सहयोग गर्नेको नाम वाचन गरिनेछ भने रु. ५०१ देखि २,००० सम्म सहयोग गर्नेहरूले रसिदसहित नाम वाचन प्राप्त गर्नेछन्। रु. २,००१ देखि १०,००० सम्म सहयोग गर्ने दातालाई खादा, माला र फ्रेमसहित सम्मानपत्र प्रदान गरिने विद्यालयले जनाएको छ। त्यस्तै, रु. २५,००१ देखि ५०,००० सम्म सहयोग गर्नेहरूलाई प्रमाणपत्रसहित दोसालाले सम्मान गरिनेछ। रु. ५०,००० भन्दा माथि सहयोग गर्ने दातालाई विशेष चन्दा दाता र रु. १ लाख भन्दा बढी सहयोग गर्नेको नाम शिलापट्टमा अंकित गरिनेछ।
स्वर्ण जयन्ती स्मारिकामा विज्ञापन राख्न इच्छुकका लागि विद्यालयले शुल्कसमेत तोकेको छ। पूरा पेज रंगीन विज्ञापनको शुल्क रु. १५,०००, आधा पेजको रु. ७,५00, चौथाइ पेजको रु. ३,५00 र सोभन्दा सानो विज्ञापनको शुल्क रु. २,००० रहने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
विद्यालयको इतिहास हेर्दा यसको प्रारम्भ वि.सं. २०२३ तिर रुद्रप्रसाद अधिकारी र शेषप्रसाद अधिकारीको पहलमा खोल्मे गोठ भत्काएर गरिएको थियो। २०३२ मंसिर २३ मा जिल्ला शिक्षा कार्यालयबाट आधिकारिक स्वीकृति प्राप्त गरेपछि विद्यालयले प्राथमिकदेखि माध्यमिक तहसम्म क्रमिक प्रगति गर्दै आएको छ। २०६१/०६२ सालमा ‘रुम टु रिड’, स्थानीय विद्यालय तथा जापानी सहयोग संस्था जाइकाको सहकार्यमा १२ कोठे आरसीसी भवन निर्माण भएको थियो। २०७२ सालको भूकम्पपछि जाइकाकै सहयोगमा नयाँ तीनतले १० कोठे आधुनिक भवन निर्माण भएपछि विद्यालय भौतिक संरचनामा अझ सुदृढ भएको छ। २०७४ सालमा ‘एडुटेक नेपाल’ को सहयोगमा २० कम्प्युटर सहित कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यालय सूचना प्रविधि शिक्षामा प्रवेश गरेको छ। यस विद्यालयबाट हालसम्म ३०० भन्दा बढी विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका छन्।
पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटर दक्षिण उकालोमा अवस्थित भानुभक्त माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यले भरिपूर्ण परिसरमा रहेको छ। वरपरका ब्राह्मण, क्षेत्री, भुजेल, मगर, तामाङ, चेपाङ र दलित समुदायबीचको सामाजिक सद्भाव तथा सहअस्तित्व यस क्षेत्रको पहिचान बनेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गजुरी–६ का वडाध्यक्ष भक्तबहादुर (कर्ण) तामाङका अनुसार विद्यालयले शैक्षिक उत्कृष्टता प्राप्त गर्दै आगामी वर्षहरूमा प्राविधिक र व्यवहारिक शिक्षालाई प्रमुख प्राथमिकतामा राख्ने लक्ष्य लिएको छ।








Yo, I just checked out prpwin and it’s pretty legit. Good vibes all around. Definitely worth a look. Check it out prpwin
https://shorturl.fm/T6BBQ