धादिङको त्रिपुरासुन्दरीमा अनौठो परम्परासहितको भव्य धार्मिक मेला लाग्दै

278 पटक पढिएको

५ मंसिर २०८२, शुक्रबार २०:४० सम्पादक: धादिङ न्यूज

धादिङ । ‘देवी भगवती’ को मुर्ति सार्ने अनौठो परम्पराका कारण विशेष पहिचान रहेको त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरासुन्दरी माईमा यहि मंसिर ६ र ७ गते भव्य धार्मिक मेला लाग्दैछ। जिल्लाको सांस्कृतिक एवं धार्मिक गौरव मानिने यो मेलामा हरेक वर्ष धादिङ लगायत विभिन्न जिल्लाका हजारौं भक्तजनको सहभागिता रहने गर्छ।

त्रिपुरासुन्दरी माई भगवतीको मुल मन्दिर रहेको त्रिपुरासुन्दरी–४, सल्यानकोटमा  मंसिर ६ गते मेला सुरू हुँदैछ भने अर्को मन्दिर रहेको त्रिपुरासुन्दरी–६, सल्यानवेसीमा मंसिर ७ गते धार्मिक जमघट हुँदैछ।

देवी भगवतीको घर, माइती र मावलीको प्रतीकका रूपमा रहेका तीनवटै मन्दिरमा विशेष विधि अनुसार मुर्ति सार्ने प्रचलन यस क्षेत्रको सांस्कृतिक पहिचान जस्तै मानिन्छ। सोही परम्परा अनुसार मंसिर ७ गते बिहान सल्यानकोटस्थित ‘घर’ मन्दिरबाट सल्यानवेसीस्थित ‘माइती’ मन्दिरमा देवी भगवतीको मुर्ति , बाजागाजा र पूजापाठसहितको भव्य धार्मिक यात्रामार्फत सारिने कार्यक्रम हुँदैछ।

धार्मिक आस्थासँगै सांस्कृतिक महत्त्व बोकेको यस मेलामा उपस्थित भई देवी भगवतीको दर्शन तथा पुन्य प्राप्तिका लागि सम्पूर्ण श्रद्धालु भक्तजनलाई आयोजक पक्षले हार्दिक आह्वान गरेको छ।