जेनजी आन्दोलनमा जलेका मालपोत अभिलेख अद्यावधिकका लागि हतार नगर्न विभागको आग्रह

251 पटक पढिएको

८ मंसिर २०८२, सोमबार ०६:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका केही मालपोत कार्यालयमा आगलागी हुँदा नष्ट भएका अभिलेख पुनः अद्यावधि गर्न सेवाग्राहीलाई हतार नगर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले अनुरोध गरेको छ।

विभागले धनगढी–कैलाली, नेपालगञ्ज–बाँके, घोराही–दाङ, विराटनगर–मोरङ, तुलसीपुर–दाङ, पोखरा–कास्की, भरतपुर–चितवन, खैरहनी–चितवन, बुटवल–रुपन्देही र कलंकी–काठमाडौं मालपोत कार्यालयलाई अभिलेख अद्यावधि प्रक्रियाबारे परिपत्र पठाएको छ।

विभागका शाखा अधिकृत माधवप्रसाद बरालका अनुसार जलेका जग्गाधनी दर्ता स्रेस्ता, मोठ तथा रोक्का कागजात विभागको ऑनलाइन प्रणालीमा सुरक्षित छन्। ती अभिलेख अद्यावधि गर्दा कुनै शुल्क नलाग्ने पनि उनले बताए।

विभागले अत्यावश्यक काम बाहेकका सेवा हालै भीड बढिरहेका कारण केही समय पर्खेर लिन सुझाउँदै, रोक्का, फुकुवा, राजीनामा, बकसपत्र, दृष्टिबन्धक, नामसारी तथा हालसाबीजस्ता नियमित काम सबै मालपोत कार्यालयबाट सञ्चालन भइरहेको स्पष्ट गरेको छ।

जलेका कागजातहरू जुनसुकै समयमा अद्यावधि गर्न मिल्ने भएकाले सेवाग्राहीले अनावश्यक भीड र हतार नगर्न विभागले आग्रह गरेको हो।