धादिङको गल्छीमा १६ वर्षीया दिपिका बसिन बाबुको किरियामा
1564 पटक पढिएको
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीकी १६ वर्षीया दिपिका भण्डारीले बाबुको किरिया आफैं बसेर समाजमा प्रचलित लैंगिक परम्परालाई चुनौती दिएकी छन्। हिन्दू संस्कारअनुसार काज–किरिया छोराले मात्र गर्छन् भन्ने मान्यता तोड्न पनि उदाहरण बनेकी छन्।
दिपिकाका बाबु, ४५ वर्षीय पूर्व प्रहरी दिपक भण्डारीको मंसिर ११ गते राति आकस्मिक निधन भएको थियो। गल्छी–१ कार्की डाँडा मूल घर भए पनि दिपक केही वर्षयता बैरेनी बजार नजिकै परिवारसहित बस्दै आएका थिए। शुक्रबार बिहान घरमै मृत भेटिएका दिपकका दुई छोरीमध्ये दिपिका जेठी हुन् भने कान्छी युनिसा नौ वर्षकी छिन्।
बुबाको मृत्युपछि किरिया आफैं बस्ने निर्णय दिपिकाले गरेकी थिइन्। सुरुमा केही आफन्तले हिच्किचाए पनि अन्ततः परिवारले उनको चाहनालाई मान्यता दियो। दिपिका भन्छिन्, “बुबाले सधैं हामीलाई हेरचाह गर्नुभयो। छोरा नभएको कारण किरिया नहुनेजस्तो सोच समाजमा थियो। त्यो गलत धारणा हटाउन पनि मैले यो कदम चालें।”
स्थानीय प्रकाश भण्डारीका अनुसार दिपिकाको निर्णयले गाउँ–समुदायमा सकारात्मक सन्देश गएको छ। उनका शब्दमा, “छोरी–छोरा बराबरी भन्ने कुरा व्यवहारमै देखिनुपर्थ्यो। दिपिकाको कामले त्यो कुरा प्रस्ट सावित गरिदिएको छ।”
दिपिकाकी आमा डिकमाया कार्की भण्डारीले पनि छोरीको निर्णयलाई पूरै साथ दिएकी छिन् ।भाइको किरिया बस्न दिपकका दाजु तयार भए पनि दिपिकाले बाबुको अन्तिम संस्कार आफैं पूरा गर्ने इच्छा प्रकट गरेपछि उनी पछि हटेका थिए।
स्थानीयवासीहरूका अनुसार दिपिकाले उठाएको कदमले समाजमा चल्दै आएको ‘धार्मिक कर्तव्य छोराकै जिम्मेवारी’ भन्ने धारणा क्रमशः कमजोर हुँदै गएको देखिएको छ।
समान अधिकार, महिला सहभागिता र सामाजिक परिवर्तनको दृष्टिले दिपिकाले देखाएको दृढता समुदायका लागि प्रेरणादायी भएको स्थानीयले बताए।








Anyone know about QK777gameapk? I’m downloading it now, looks interesting! Let’s play together! Get it now at: qk777gameapk