आज नेपालसहित विश्वभर ३८औँ विश्व एड्स दिवस  मनाइँदै

272 पटक पढिएको

१५ मंसिर २०८२, सोमबार ०६:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आज नेपालसहित विश्वभर ३८औँ विश्व एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९८८ देखि प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने रहेको छ ।

यस दिवसले एचआईभी/एड्स विरुद्धको प्रयासलाई अझ सुदृढ, समावेशी र समुदाय–केन्द्रित बनाउनुपर्ने सन्देश दिएको छ। हरेक वर्ष डिसेम्बर १ मा मनाइने यो दिवसले चुनौतीबीच पनि संक्रमण रोकथाम, उपचार पहुँच र अधिकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्छ।

यस वर्षको नाराले एचआईभी नियन्त्रणका क्रममा देखिएका अवरोधलाई अवसरमा बदल्दै नयाँ समाधान, समान सेवा पहुँच र मानवअधिकारमैत्री स्वास्थ्य प्रणालीमार्फत एड्स अन्त्य गर्ने दिशामा अघि बढ्न आह्वान गरेको छ। एचआईभी निर्मूल गर्ने अभियानमा समुदाय र सरकारबीच सहकार्य, भेदभाव अन्त्य र नियमित परीक्षणलाई मुख्य आधार मानिएको छ।

सरकारी तथ्यांकअनुसार सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ वर्षभन्दा माथिका संक्रमित ३३ हजार २ सय ७९ जना रहेका छन्। महिला संक्रमितको संख्या १४ हजार पुगेको छ भने पुरुष संक्रमित १९ हजार २ सय ७९ जनामा पुगेका छन्। यस्तै एक हजार ५८ बालबालिका एचआईभी पोजेटिभ अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ।

देशमा अहिले पनि दैनिक औसत दुई जना नयाँ संक्रमित थपिने र एक जनाको एचआईभीका कारण ज्यान जाने अवस्था कायम छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार संक्रमण दर स्थिर नभए पनि उपचार सेवामा जाने महिलामात्रै बढ्दो क्रममा छन्, जसले सामाजिक स्वीकार्यता र जनचेतना फैलिन थालेको संकेत दिन्छ।

नेपाल सरकारले सन् २०३० भित्र एड्सको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ ।

रणनीतिअन्तर्गत अधिकतम संक्रमितले आफ्नो अवस्थाबारे थाहा पाउने, उपचारमा जोडिने र भाइरल लोड कम गराउने लक्ष्य अगाडि सारिएको छ। लक्ष्य पूरा गर्न परीक्षण विस्तार, उपचार सेवा सबल, भेदभाव अन्त्य, जोखिम समूहसम्म पहुँच र सूचनामा समान अधिकार सुनिश्चित गर्न आवश्यक छ।

आज देशभर सरकारी तथा गैरसरकारी निकायले जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य परामर्श, परीक्षण सेवा तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै विश्व एड्स दिवस मनाइरहेका छन्। यस दिवसले एचआईभी/एड्स रोकथामका लागि सहकार्य, संवेदनशीलता र स्वास्थ्यमैत्री वातावरण निर्माण गर्न सबै पक्षलाई एकजुट हुन सन्देश दिएको छ।