पतन्जली योग साधकहरुको धादिङ जिल्ला अधिवेशन पुस १२मा

280 पटक पढिएको

१६ मंसिर २०८२, मंगलवार ०६:५६ सम्पादक: धादिङ न्यूज

धादिङ। धादिङ जिल्लामा छरिएर रहेका पतन्जली योग साधकहरुको जिल्ला सम्मेलन हुने भएको छ ।

योगसाधकहरूबीच आपसी घनिष्ठता र समन्वयका लागि अधिबेशनको आयोजना गरिएको आयोजकले जनाएको छ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित सिटीहलमा पुस १२ गते शनिबार पतञ्जली तथा महिला पतञ्जलीको अधिवेशन सञ्चालन गर्ने निर्णय गरिएको छ। अधिवेशनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन चारवटा समितिहरू गठन गरिएको आयोजक समितिले जनाएको छ। ती समितिहरूले तयारी, व्यवस्थापन तथा समन्वयका जिम्मेवारी निर्वाह गर्नेछन्।

कार्यक्रमका लागि इच्छुक साधक–साधिकाबाट आर्थिक सहयोग संकलन कार्य जारी छ। प्रारम्भिक रूपमा करिब ४० हजार रुपैयाँ संकलन भइसकेको र सहयोग अझै बढिरहेको आयोजकले जानकारी दिएको छ। अधिवेशनलाई सफल, भव्य तथा अविस्मरणीय बनाउँदै जिल्लाभर योगमैत्री वातावरण फैलाउने लक्ष्य राखिएको छ।

आयोजकका अनुसार योग, स्वास्थ्य चेतना तथा सामाजिक अनुशासन प्रवर्द्धनमा अधिवेशनले सकारात्मक प्रभाव पार्ने अपेक्षा छ। समुदाय, स्थानीय निकाय तथा साधक–साधिकाको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।