सिद्धलेकका १० कृषक समूहलाई ‘ब्याड बोका’ वितरण

534 पटक पढिएको

१६ मंसिर २०८२, मंगलवार १२:०३ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको सिद्धलेक गाउँपालिकाका १० वटा कृषक समूहलाई बाख्रापालन प्रवर्द्धनका लागि २० वटा उच्च जातका बोयर ब्याड बोका वितरण गरिएको छ। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसिप ) गोरखा क्लस्टर इकाइद्वारा सञ्चालन भइरहेको बाख्रापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत बोका वितरण गरिएको हो।

मंसिर १५ गते सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता अर्यालले सभापतित्व गर्दै बाख्रापालन ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएकाले कार्यक्रमले कृषक परिवारमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, पशु सेवा शाखा प्रमुख डा. चक्र वली, कृषि शाखा प्रमुख सुदिप रेग्मीलगायतका प्राविधिक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो। उनीहरूको रोहबरमा शत प्रतिशत अनुदानमा उपलब्ध गराइएका २० वटा बोयर जातका ब्याड बोका १० वटा कृषक समूहलाई हस्तान्तरण गरिएको हो।

आयोजनाका अनुसार, उच्च उत्पादन क्षमता भएका बोयर बोका वितरण कार्यक्रमले स्थानीय बाख्रापालन व्यवसायमा प्रविधियुक्त सुधार, आनुवंशिकस्तरको गुणस्तर वृद्धि तथा किसानको आम्दानीमा प्रत्यक्ष टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। फ्यानसिप गोरखाले यस कार्यक्रमलाई निरन्तर अनुगमन तथा प्राविधिक सहयोगमार्फत आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ।