शर्मिला तिमल्सिनाको गजल सङ्ग्रह ‘रहर जिन्दगीको’ विमोचन

696 पटक पढिएको

२८ मंसिर २०८२, आईतवार २०:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । शर्मिला तिमल्सिनाद्वारा रचित गजल सङ्ग्रह ‘रहर जिन्दगीको’ शनिबार विमोचन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित शिव पाञ्चायन मन्दिर परिसरमा आयोजित कार्यक्रममा अभिनव साहित्य समाजको २८६औँ शृङ्खला अन्तर्गत उक्त कृतिको लोकार्पण गरिएको हो।

सोही अवसरमा यस वर्षको बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार इलामका गङ्गाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलाे’लाई प्रदान गरिएको छ। कार्यक्रममा नियमित कवि गोष्ठी तथा बिहान ११ बजेदेखि छन्द कविता लेखन तथा वाचन प्रशिक्षणमा सहभागी शिक्षकहरूको छन्द कविता वाचन प्रतियोगितासमेत सम्पन्न भएको थियो। प्रतियोगितामा उत्कृष्ट पाँच जनालाई नगदसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै साहित्यकारहरू समाजका मार्गनिर्देशक भएको धारणा राख्नुभयो। उहाँले साहित्यिक क्षेत्रमा प्रविधि, विशेषतः एआइको प्रभाव बढ्दै गएको उल्लेख गर्दै देशलाई सही दिशातर्फ लैजान सर्जकहरू साहित्यमार्फत सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

गजल सङ्ग्रहबारे टिप्पणी गर्दै अभिनव साहित्य समाजका सचिव परशुराम परासरले ‘रहर जिन्दगीको’ बहरमा लेखिएका गजलहरूको सङ्ग्रह भएको बताउनुभयो। उहाँका अनुसार यसमा शृङ्गारिक विषय मात्र नभई राजनीतिक विसङ्गति, संसदीय खेल, नारी चेतना, सामाजिक तथा समसामयिक विषयवस्तु समेटिएका गजलहरू समावेश छन्।

गजलकार शर्मिला तिमल्सिनाले मातापिता, गुरु तथा अग्रज–अनुजको प्रेरणाले यो कृति तयार भएको बताउँदै सङ्ग्रहमा विभिन्न पाठशालामा अभ्यास गरिएका विषयवस्तुमा आधारित ८५ वटा गजल समावेश गरिएको जानकारी दिनुभयो। उहाँले आफ्नो पहिलो लेख वि.सं. २०६० फागुन १८ गते ‘धादिङकी पिण्डेश्वरीदेवी’ शीर्षकमा गोरखापत्रमा प्रकाशित भएपछि साहित्य यात्रामा ऊर्जा मिलेको अनुभव पनि साझा गर्नुभयो।

कार्यक्रम समापन गर्दै अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्दै संस्था अघि बढिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा शान्ति रिसाल, पुनम मिश्र, उत्तम भेटवाल, ध्रुव गजुरेल, बासु पौडेल, मेनुका आचार्यलगायत स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो।


7kbet777, sounds lucky! I checked out 7kbet777 and found the slots to be pretty standard. Nothing mind-blowing, but if you like classic slots, this might be your cup of tea. Good luck!