आज तमु ल्होसार हर्षोल्लासका साथ मनाइँदै

399 पटक पढिएको

१५ पुष २०८२, मंगलवार ०७:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आज गुरुङ समुदायले आफ्नो नयाँ वर्षका रूपमा मनाइने ‘तमु ल्होसार’ पर्व हर्षोल्लासका साथ मनाउँदैछन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्ने परम्पराअनुसार यो पर्व मनाइन्छ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो। गुरुङ समुदायले यस पर्वलाई सांस्कृतिक पहिचानका रूपमा भव्य रूपमा मनाउने गर्छन्।

तमु ल्होसार सूर्यको गतिसँग सम्बन्धित मानिन्छ। गुरुङ बाहुल्य रहेका धादिङ,लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस १५ गते सूर्यको ताप पहिले पुग्ने विश्वासका कारण यही दिन यो पर्व मनाइन्छ। पुस १५ को रात सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताइन्छ।

पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। यस अवसरमा काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्।