काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

347 पटक पढिएको

२२ पुष २०८२, मंगलवार ०८:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली काँग्रेस यतिबेला आन्तरिक विवादमा फसेको छ। विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयलाई लिएर देखिएको मतभेदले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। यही परिस्थितिका बीच सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक आज बिहान ११ बजे बस्नेछ।

बैठकमा मुख्य रूपमा राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा छलफल हुने बताइएको छ। बुधबार राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार दर्ताको कार्यतालिका रहेकाले दलहरू अहिले चुनावी तालमेल र उम्मेदवार छनोटमा केन्द्रित छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग तालमेल गर्ने तयारीगरेको छ।

सोमबार सम्पन्न बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावी तालमेलका लागि भएका छलफलबारे केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका थिए।