आज राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस

287 पटक पढिएको

२३ पुष २०८२, बुधबार ०७:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस आज देशभर मनाइँदै छ। उनको मृत्यु सन् १३०६ मा भएको मानिन्छ। नेपाली ललितकला र वास्तुकलामा अरनिकोको योगदान अत्यन्तै महत्वपूर्ण रहेको छ।

उनको योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष पुस २३ गतेअरनिको स्मृति दिवस मनाउने गरिन्छ। नेपाल र चीन दुवै देशमा विशेष महत्वका साथ मनाइने यो दिवस विसं २०५८ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको हो, जसले सरकारी मान्यता समेत पाएको छ।

१३औँ शताब्दीमा राजा अनन्त मल्लको शासनकालमा चीन पुगेका अरनिकोले नेपाली शैलीको कला–शिल्प चीन र तिब्बतसम्म फैलाएको मानिन्छ। यद्यपि, उनको जीवन र पारिवारिक पृष्ठभूमिसम्बन्धी धेरै तथ्यहरू अझै पनि अपुरा छन्। चीनको बेइजिङमा बसोबास गरेका अरनिकोका सन्तानबारे समेत स्पष्ट जानकारी उपलब्ध छैन।

कलिलै उमेरमा तिब्बत हुँदै चीन पुगेका अरनिकोले विशेषगरी बौद्ध वास्तुकला र धातुकलामा ख्याति कमाएका थिए। नेपाली कलाकारहरूको नेतृत्व गर्दै उनले नेपाली वास्तुकला र कलाशिल्पलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेले।

नेपाली वास्तुकलामा अरनिकोले पुर्‍याएको योगदान आज पनि प्रेरणादायी रहेको भन्दै त्यसबाट सिक्नुपर्ने आवश्यकता औँल्याइन्छ।

विसं २०२४ सालमा नेपाल र नेपालीको गौरव बढाउने १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने क्रममा कलाकार अरनिकोलाई पनि राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको थियो। हालसम्म उनी एकमात्र राष्ट्रिय कलाकारका रूपमा मान्यता प्राप्त व्यक्ति हुन्।

उनको स्मृतिमा पूर्ण कदको आकृति झल्किने हुलाक टिकट तथा अनुहार-आकृति अंकित टिकट माला समेत प्रकाशन गरिएको छ।