माघ १५ देखि २५ गतेसम्म धादिङबेसीमा दशौं धादिङ महोत्सव
276 पटक पढिएको
धादिङ । धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्दै आर्थिक गतिशीलता बढाउने उद्देश्यका साथ धादिङ उद्योग वाणिज्य संघले दशौं धादिङ महोत्सव आयोजना गर्ने भएको छ।
महोत्सव आगामी माघ १५ गतेदेखि माघ २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेसीको खुल्ला मञ्चमा आयोजना हुनेछ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो।
नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शक सहभागी हुने र करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले नीलकण्ठ नगरपालिका–६ स्थित ऐतिहासिक तथा धार्मिक स्थल भैरवी मन्दिरको विशेष पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै दशौं संस्करणको महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो।
महोत्सवमार्फत जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
दशौं संस्करणको महोत्सवमा १६० भन्दा बढी स्टल रहनेछन्। जसअन्तर्गत व्यापारिक स्टल १००, घरेलु तथा साना उद्योग स्टल २० तथा कृषि तथा अन्य उत्पादन स्टल ४० वटा रहनेछन्।
महोत्सवका मुख्य आकर्षणका रूपमा कृषि उपज तथा घरेलु उत्पादन प्रदर्शनी एवं प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन, भैरवी मन्दिर केन्द्रित पर्यटन प्रवर्द्धन कार्यक्रम, सबै स्थानीय तहका विशेष उत्पादन स्टल, कृषि, पशुसेवा तथा वन कार्यालयको परामर्श सेवा, स्थानीय परिकार तथा संस्कृतिको प्रस्तुति, रमाइलो मेला तथा बाल उद्यान र राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा दैनिक सांस्कृतिक कार्यक्रम रहनेछन्।
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो। उहाँका अनुसार समितिको संयोजकमा अध्यक्ष डल्लाकोटी र सह–संयोजकमा वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी रहनुभएको छ। साथै ५१ सदस्यीय सल्लाहकार समिति, २५ सदस्यीय सचिवालय समिति र २४ वटा विषयगत समिति गठन गरिएको छ।
आयोजकले दशौं धादिङ महोत्सवलाई सभ्य र भव्य बनाउन सबैसँग सहयोगको अपिल गरेको छ।








JLMK? What’s that even stand for? Sounds kinda mysterious. Guess I’ll have to dive in and see what this site is all about. Keeping my fingers crossed it’s something interesting. Click here to investigate: jlmk