धादिङको बेनीघाट रोराङमा खेलकुद उत्सव, उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट

332 पटक पढिएको

२९ पुष २०८२, मंगलवार ०७:४७ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको विशालटारमा गाउँपालिका स्तरीय चारवटा खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड, शहीद स्मृति कप, छैटौँ मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता एकसाथ सञ्चालन गरिने आयोजकले जनाएको छ ।

चारवटै प्रतियोगिताको संयुक्त उद्घाटन पुस ३० गते बुधबार बिहान ११ बजे चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारस्थित खेलमैदानमा हुने भएको छ । प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथि पूर्व राष्ट्रपति माननीय विद्यादेवी भण्डारी रहने कार्यक्रम छ ।

कार्यक्रमको अध्यक्षता बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ ले गर्नेछन् । प्रतियोगिता बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा तथा व्यवस्थापनमा सञ्चालन हुन लागेको हो ।

गाउँपालिकाका अनुसार प्रतियोगिताले स्थानीय स्तरका बालबालिका, किशोर तथा युवाहरूलाई खेलकुदमा सहभागी गराउँदै प्रतिभा पहिचान, शारीरिक तथा मानसिक विकास, अनुशासन र आपसी सद्भाव प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । साथै राष्ट्रपति रनिङ शिल्डमार्फत विद्यालयस्तरका खेलाडीहरूको क्षमता अभिवृद्धि र प्रतिस्पर्धी खेलाडी उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

आयोजकले प्रतियोगितालाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, विद्यार्थी तथा सर्वसाधारणलाई उद्घाटन समारोहमा उपस्थितिका लागि आग्रह गरिएको छ ।