रुवी भ्याली लापा–खादिङ सडक खण्डको औपचारिक उद्घाटन

358 पटक पढिएको

२९ पुष २०८२, मंगलवार २१:३८ सम्पादक: धादिङ न्यूज

लापा- रुवी भ्याली गाउँपालिका वडा नं. ५ अन्तर्गतको लापा–खादिङ सडक खण्ड औपचारिक रूपमा उद्घाटन गरिएको छ। दुर्गम क्षेत्रका बासिन्दालाई यातायात सुविधासँग जोड्ने उद्देश्यले निर्माण गरिएको सडकको उद्घाटन कार्यक्रममा राजनीतिक, प्रशासनिक तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहका प्रमुख अतिथि  पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य डम्बर तामाङले ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विकासले सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले लापा–खादिङ सडक सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, कृषि र व्यापार क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले लापा–खादिङ सडकलाई गाउँपालिकाको भविष्यसँग जोडिएको जीवनरेखा भएको उल्लेख गर्दै दशकौँको प्रतीक्षापछि यो उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले स्थानीय जनताको सहयोग, धैर्य र एकतालाई धन्यवाद दिनुभयो।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले विकाससँगै सुरक्षा र सुशासन आवश्यक हुने बताउँदै सडक सञ्चालनपछि शान्ति सुरक्षा, यातायात व्यवस्थापन र निर्वाचन सुरक्षामा सम्बन्धित निकायहरू सतर्क रहने जानकारी दिनुभयो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले सडक सञ्चालनले महिला, किसान र युवालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै स्थानीय उत्पादन बजारसम्म सहज रूपमा पुग्ने अवस्था सिर्जना हुने बताउनुभयो।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष रम्बा तामाङ, वडा अध्यक्ष समिर गुरुङसहित अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सडक उद्घाटनसँगै स्थानीय यातायात सेवा प्रवाह सहज बनाउन काउन्टर स्थापना गरिएको छ। लापा–खादिङ सडक खण्ड सञ्चालनमा आएपछि रुवी भ्याली क्षेत्रको विकासले थप गति लिने विश्वास लिइएको छ।

धादिङ जिल्लाको रुबी भ्याली क्षेत्रमा पर्ने लापा–खादिङ सडक बागमती प्रदेश सरकारद्वारा सञ्चालित एकीकृत रुबी भ्याली विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको एक महत्वपूर्ण पूर्वाधार आयोजना हो।