ज्वालामुखी गाउँपालिकाको नमूना निर्णय,कफी किसानलाई प्रतिकेजी ४० रुपैयाँ अनुदान
290 पटक पढिएको
धादिङ । ज्वालामुखी गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राख्दै किसानमैत्री निर्णय गरेको छ। गाउँपालिकाको १६औँ हिउँदे सभाबाट कफी खेती गरिरहेका किसानलाई उत्पादनको आधारमा अनुदान दिने निर्णय गरिएको हो।
निर्णयअनुसार १ केजी रेड चेरी कफी उत्पादन गर्ने किसानलाई प्रतिकेजी ४० रुपैयाँका दरले अनुदान प्रदान गरिनेछ। “कफी खेती गरौँ, स्वरोजगार बनौँ” तथा “उत्पादन साथमा अनुदान हातमा” भन्ने नारालाई आत्मसात् गर्दै स्थानीय सरकारले कफी किसानलाई प्रत्यक्ष लाभ पुग्ने नीति अघि सारेको हो।
गाउँपालिकाले कफी खेतीलाई आयआर्जन र रोजगारी सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ। कफी खेती प्रवर्द्धनका लागि गरिएको यो निर्णय जिल्लाकै उदाहरणीय अभ्यास हुन सक्ने स्थानीयको भनाइ छ।
पूर्वाधार विकासका नाममा जथाभावी खर्च गर्ने प्रवृत्तिभन्दा उत्पादनमुखी यस्ता कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै गाउँको अर्थतन्त्र सुदृढ बनाउने विश्वास लिइएको छ।
कफी खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्ने ज्वालामुखी गाउँपालिकाको यो पहललाई नमूना स्थानीय सरकारको अभ्यास का रूपमा हेरिएको छ।








https://shorturl.fm/uhuaI