आज देशभर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार मनोनयन हुँदै

338 पटक पढिएको

६ माघ २०८२, मंगलवार ०७:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता आज देशभर हुँदैछ। निर्वाचन आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

उम्मेदवारी दर्ता शान्त, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारलाई तडकभडक नगर्न विशेष आग्रह गरेको छ। भीडभाड कम गर्ने र दर्ता प्रक्रिया सहज बनाउने उद्देश्यले प्रमुख दल तथा उम्मेदवारका लागि समय तालिका समेत निर्धारण गरिएको आयोगले जनाएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये १ सय ६५ सदस्य प्रत्यक्ष प्रणालीबाट र १ सय १० सदस्य समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ। आयोगले यसअघि समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ।

मनोनयन दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण (निस्सा) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। साथै अन्य आवश्यक कागजात समेत साथमा ल्याउन आयोगले आग्रह गरेको छ।

भदौ २३–२४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराएको छ भने सुरक्षाका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया पनि अघि बढिसकेको छ।

प्रमुख राजनीतिक दलमध्ये नेकपा एमालेले सबै क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको जनाएको छ। नेपाली कांग्रेसले केही क्षेत्रको छनोट अन्तिम चरणमा रहेको बताएको छ भने अन्य दलहरूले पनि उम्मेदवारलाई आधिकारिक पत्र वितरण गरिसकेका छन्।

विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो। आयोगले आज देशभर उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मनोनयन कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।