आशिकाविरुद्धको उजुरी अस्वीकार, निष्क्रिय ‘टिआर’ ले उम्मेदवारीमा असर नगर्ने
441 पटक पढिएको
धादिङ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध परेको उजुरी निर्वाचन कार्यालयले दर्ता नगरी फिर्ता गरेको छ। तोकिएको समयपछि ठोस प्रमाणबिनै उजुरी दर्ता गर्न खोजिएकाले अस्वीकार गरिएको निर्वाचन कार्यालय स्रोतले जनाएको छ।
उजुरीमा तामाङसँग जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) रहेको दाबी गरिएको थियो। तर जाँचका क्रममा उनले लिएको भनिएको कार्ड पीआर नभई ‘टिआर’ (Temporary Residency) भएको र त्यो पनि पहिल्यै निष्क्रिय भइसकेको पाइएको स्रोतले जानकारी दिएको छ। निष्क्रिय भइसकेको टिआरले उम्मेदवारीमा कुनै असर नपर्ने भएकाले उजुरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालिएको हो।
आशिका तामाङले जर्मनीमा बसोबास गरे पनि नेपालको नागरिकता र पासपोर्ट त्यागेकी छैनन्। टिआर कार्डको प्रावधानअनुसार ६ महिनाभन्दा बढी समय देशबाहिर बस्दा सो अनुमति स्वतः निष्क्रिय हुने व्यवस्था छ। उनी पछिल्लो पटक ९ महिनाभन्दा बढी समयदेखि नेपालमै रहेकाले टिआर स्वतः खारेज भइसकेको बताइएको छ।
मनोनयन दर्ता गर्नुअघि नै तामाङले निर्वाचन आयोगमा पुगेर आवश्यक कागजातसहित आफ्नो अवस्था स्पष्ट पारेकी थिइन्। आयोगका अधिकारीहरूले उनको टिआरले उम्मेदवारीमा कुनै कानुनी बाधा नपर्ने स्पष्ट पारेका थिए।
तामाङ सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उनी नेपाल आउँदा सरसफाइ अभियान, गरिब तथा विपन्न समुदायको सहयोगमा सक्रिय रहँदै आएकी छन्। जेनजी आन्दोलनका क्रममा घाइतेहरूको उपचार तथा सहयोगमा सक्रिय भूमिका खेलेको भन्दै उनको प्रशंसा पनि भएको थियो।
रास्वपाले तामाङलाई उनको जन्मस्थानसमेत रहेको धादिङ क्षेत्रबाट उम्मेदवार बनाएको हो। हाल उनी चुनावी अभियानमा सक्रिय छन्।
निर्वाचन अधिकृत एकराज अधिकारीले आशिका तामाङविरुद्ध हालसम्म कुनै पनि उजुरी दर्ता नरहेको पुष्टि गरेका छन्।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशको स्थायी आवासीय अनुमति लिएको नेपाली नागरिक निर्वाचनका लागि अयोग्य हुने व्यवस्था छ। तर त्यस्तो अनुमति त्यागेको कम्तीमा तीन महिना पूरा भएमा उम्मेदवारीमा बाधा नपर्ने स्पष्ट उल्लेख छ।







Start profiting from your traffic—sign up today!