डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि
266 पटक पढिएको
काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको भाउ बढाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भई आएकाले निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो।
यस मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३९ रुपैयाँ कायम भएको छ। हवाई इन्धनको क्षेत्रमा भने निगमले उपभोक्तालाई राहत दिएको छ। आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर ७ अमेरिकी डलरले मूल्य कटौती गरिएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने हवाई इन्धनको मूल्य ‘ब्रेक इभन पोइन्ट’ मा राखिएको निगमले जनाएको छ।
आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँ मूल्य बढेर आए पनि निगमले हाललाई पेट्रोल र ग्याँसको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। यसअघि माघ १ गतेको मूल्य समायोजनमा पेट्रोल १५६ रुपैयाँ र डिजेल १३६ रुपैयाँ प्रतिलिटर कायम थियो। डिजेलको मूल्यमा भएको यो वृद्धिसँगै बजारमा ढुवानी र सार्वजनिक यातायातको लागत बढ्न सक्ने अनुमान गरिएको छ।








Promote our brand and get paid—enroll in our affiliate program!