शहीद दिवसको अवसरमा धादिङका ७२ चेपाङ बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

726 पटक पढिएको

१७ माघ २०८२, शनिबार २१:०० सम्पादक: धादिङ न्यूज

धादिङ, १७ माघ | शहीद दिवस २०८२ को पावन अवसरमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, माङटारस्थित भूमिस्थान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण गरिएको छ। बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालको आयोजनामा सो विद्यालयका ७२ जना विद्यार्थीहरूलाई विद्यालय पोसाक, न्यानो कपडा तथा विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरिएको हो।

बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष एवं धादिङका प्रतिष्ठित समाजसेवी चिकित्सक डा. राम थापा क्षेत्रीको विशेष पहलमा यो कार्यक्रम सम्पन्न भएको हो। संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत विशेष गरी सीमान्तकृत चेपाङ समुदायका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष डा. क्षेत्रीले बताउनुभयो।

“हाम्रो मुख्य उद्देश्य दुर्गम क्षेत्रका र आर्थिक रूपमा विपन्न बालबालिकाहरूको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनु हो,” अध्यक्ष डा. क्षेत्रीले भन्नुभयो, “यसअघि पनि हामीले बेनीघाट रोराङकै कान्द्राङ्ग गढी, सिमथली, र छेवाङ्ग जस्ता विकट स्थानहरूमा यस्ता मानवीय सेवाका कार्यहरू सम्पन्न गरिसकेका छौँ।”

सामग्री वितरणसँगै कार्यक्रममा विद्यार्थीहरूलाई आकस्मिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक तालिम समेत प्रदान गरिएको थियो। कार्यक्रमकै क्रममा एक विद्यार्थीलाई कुकुरले टोकेको जानकारी पाए लगत्तै डा. क्षेत्रीको टोलीले सक्रियता देखाएको थियो। ती बालिकालाई तत्कालै ताल्तीसम्म पुर्‍याएर रेबिज विरुद्धको खोप लगाउन पहल गरिएको थियो, जसले कार्यक्रममा स्वास्थ्य सुरक्षाप्रति संस्थाको गम्भीरता झल्काएको थियो।

विद्यालय पोसाक र न्यानो कपडा पाएपछि चिसो मौसममा विद्यालय आउन कठिन हुने विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। सीमान्तकृत समुदायका बालबालिकाहरूलाई विद्यालयप्रति आकर्षित गर्न र उनीहरूको शैक्षिक निरन्तरता सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।