धादिङका २ हजार ७ सय ३३ जना किशोरीलाई एचपिभी खोप लगाइने

278 पटक पढिएको

२५ माघ २०८२, आईतवार ०६:५२ सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङमा २ हजार ७ सय ३३ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

माघ २७ देखि २९ गतेसम्म  विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीहरु र विद्यालय बाहिर भएका १० वर्ष पुरा भएका ११ वर्षमुनिका किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको हो ।

विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई खोप दिइने जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्यसचिव अर्जुन पौडेलले  बताउनुभयो। निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाइने छ ।

जिल्लामा २ सय ५६ खोप केन्द्रबाट १ सय ९८ स्वास्थ्यकर्मी र ४ सय २६ स्वयंसेवक मार्फत खोप दिइने छ ।विद्यालय बाहिर रहेकाहरु समेत नछुटुन भनेर खोजि र पहिचान समेत गर्दै पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप लगाइने योजना रहेको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले जानकारी दिनुभयो ।

खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएकाले यो खोप नपाएकाले गत वर्षदेखि खोप अभियान प्रारम्भ भएको थियो ।

‘जिल्लाका तेह्रवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी पुरा भईसकेको छ । विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ‚’ पौडेलले  बताउनुभयो। खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन पौडेलको आग्रह छ ।