विश्व उपभोक्ता अधिकार दिवस आज: अनलाइन ठगी बढ्दै, उपभोक्ता संरक्षणमा अझै चुनौती

354 पटक पढिएको

१ चैत्र २०८२, आईतवार ०७:०८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने नाराका साथ आज (आइतबार) विभिन्न कार्यक्रम गरी विश्व उपभोक्ता अधिकार दिवस–२०८२ मनाइँदै छ। उपभोक्ताको अधिकार संरक्षण, सचेतना अभिवृद्धि र सुरक्षित बजार व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले प्रत्येक वर्ष मार्च १५ मा यो दिवस विश्वभर मनाइने गरिन्छ।

डिजिटल युगसँगै उपभोक्ताहरू अनलाइन र अफलाइन दुवै बजारमा सक्रिय बन्दै गएका छन्। तर बजारको विस्तारसँगै ठगीका घटना पनि बढ्दै गएको सरोकारवालाहरूले बताएका छन्। नेपालमा विशेषगरी अनलाइन सपिङ, वित्तीय सेवा र मोबाइल एपमार्फत हुने ठगीका घटना पछिल्लो समय बढ्दो क्रममा देखिएका छन्।

अत्यधिक आकर्षक अफर, झुटा विज्ञापन तथा नक्कली उत्पादनको बिक्रीले उपभोक्ताहरू आर्थिक मात्र नभई मानसिक रूपमा समेत प्रभावित हुने गरेका छन्। सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचारप्रसारका कारण धेरै उपभोक्ता गुणस्तरहीन वस्तु किन्न बाध्य हुने अवस्था पनि देखिएको छ।

उपभोक्ता अधिकार दिवसको मुख्य उद्देश्य उपभोक्तालाई आफ्ना अधिकारबारे सचेत गराउनु र उनीहरूको संरक्षणका लागि सरकारी तथा गैरसरकारी निकायलाई सक्रिय बनाउनु हो। यस दिवसले उपभोक्ताको चार आधारभूत अधिकार—सुरक्षितताको अधिकार, जानकारी प्राप्त गर्ने अधिकार, रोजाइको अधिकार र आवाज उठाउने अधिकार-लाई विशेष महत्व दिन्छ।

तर नेपालमा यी अधिकारहरूको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन्। उपभोक्तामा अधिकारसम्बन्धी पर्याप्त जानकारीको अभाव र कानुनी व्यवस्थाको कमजोर कार्यान्वयनका कारण धेरै उपभोक्ता ठगी तथा शोषणको सिकार भइरहेका छन्।

यता, उपभोक्ता संरक्षण ऐन लागू भए पनि बजार अनुगमनको कमी, मूल्य नियन्त्रणमा कमजोरी तथा ठगी गर्ने व्यापारीमाथि कडा कारबाही नहुनुले उपभोक्ताको विश्वास कमजोर हुँदै गएको बताइन्छ।

यस अवसरमा उपभोक्तालाई सचेत गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ठगी नियन्त्रणका लागि कडा कानुनी व्यवस्था र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

उपभोक्ता अधिकारको प्रभावकारी संरक्षणका लागि नागरिक, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताइएको छ। सामूहिक प्रयासबाट मात्रै उपभोक्तालाई ठगी र शोषणबाट जोगाउँदै सुरक्षित तथा विश्वासयोग्य बजार वातावरण निर्माण गर्न सकिने विश्वास व्यक्त गरिएको छ।