गोरखा माइक्रोबस दुर्घटना अपडेट: मृत्यु भएका सबैको पहिचान खुल्यो

231 पटक पढिएको

१ चैत्र २०८२, आईतवार १४:०७ सम्पादक: धादिङ न्यूज

गोरखा- सहिद लखन गाउँपालिका–३, कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान  खुलेको छ । दुर्घटनामा परी सात जना भारतीय नागरिकको मृत्यु भएको छ भने घाइतेको संख्या सात जनाभन्दा बढी छ।

बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रुहरू सवार थिए। जिल्लाका प्रहरी प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा मृतक भारतीय नागरिकमध्ये ५८ वर्षका मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षकी मीनाक्षी, ५३ वर्षका सिवगामी, ५७ वर्षका विजायल, ५८ वर्षकी मीना र ६० वर्षकी तमिलारसी रहेको जानकारी प्राप्त भएको छ। सबैको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटना घटेको माइक्रोबस करिब २०० मिटर तल सडकबाट खसेको देखिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, माइक्रोबसको ब्रेक फेल भएको हुनसक्ने अनुमान गरिएको छ।

घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि पुरानो मेडिकल कलेज, चितवन लगिएको छ। घाइतेमध्ये ६२ वर्षका सोरनम, ६५ वर्षका मङ्गदा जलम, ७५ वर्षकी सुभाद्रा, ६५ वर्षकी मायाल, ७३ वर्षकी सरोजा, ७५ वर्षकी भाग्यलक्ष्मी र ३४ वर्षकी मीनाक्षीको उपचार भइरहेको छ र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

चालक ४६ वर्षका पुष्प मल्ल ठकुरी (बेँसीसहर नगरपालिका–१) सकुशल रहेका छन् भने सहचालक २९ वर्षका सन्तोष गुरुङ (बेँसीसहर नगरपालिका–३) घाइते छन्।

प्रहरीले दुर्घटनाको पूर्ण विवरण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको छ। यात्रुहरू मनकामना दर्शन गरी फर्कँदै गर्दा दुर्घटना भएको भन्दै प्रारम्भिक अनुमान गरिएको छ।