दुई पुस्तादेखि ओढारमै सीमित एक परिवारको कथा: समाचारको प्रभावपछि नागरिकता दिलाउन प्रशासनको विशेष चासो !
220 पटक पढिएको
धादिङ-धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मैवाङमा दुई पुस्तादेखि ओढारमै जीवन बिताउँदै आएका इस्तराम प्रजा र उनकी श्रीमती विखिमायाँलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालय धादिङले औपचारिक प्रक्रिया सुरु गरेको छ। सोमबार इस्तराम परिवारको दुःखद अवस्थाबारे समाचार सार्वजनिक भएपछि प्रशासनले यस विषयमा विशेष चासो देखाएको हो। उक्त समाचारमा इस्तरामका छोरा र बुहारीको नागरिकता बनेको भए पनि घरमूली इस्तराम दम्पतीको भने हालसम्म नागरिकता नबनेको तथ्य उल्लेख गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयले छोराको नागरिकताको आधारमा पुराना अभिलेखहरू खोजी गर्दा इस्तरामको नाममा कुनै पनि नागरिकता बनेको नभेटिएपछि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी दम्पतीलाई नयाँ प्रक्रियाबाट नागरिकता दिलाउने कार्य अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो। इस्तराम प्रजा, उनकी श्रीमती विखिमायाँ, छोरा सुब्बा र बुहारी विष्णुमाया लामो समयदेखि ओढारको कष्टकर बासमा रहँदै आएका छन्।
नागरिकता नभएकै कारण उनीहरूले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता लगायतका महत्वपूर्ण सेवा र सुविधाहरू प्राप्त गर्न सकेका थिएनन्। यसैबीच, बेनीघाट रोराङ गाउँपालिकाले पनि उक्त परिवारको अवस्थाप्रति गम्भीर बन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। वर्षौंदेखि ओढारको ओसिलो र असुरक्षित ठाउँमा जीवन बिताइरहेको यो परिवारले अब नागरिकता प्राप्त गरेसँगै राज्यको मूलधारमा जोडिने र सरकारी राहत पाउने आशा पलाएको छ।








Start earning passive income—join our affiliate network today!
Sign up for our affiliate program and watch your earnings grow!