बुङचुङमा विशेष स्वास्थ्य शिविर सम्पन्न, १६ जनामा क्षयरोग पुष्टि

228 पटक पढिएको

१५ चैत्र २०८२, आईतवार २१:३४ सम्पादक: धादिङ न्यूज

धादिङ, १५ चैत । धादिङको सिद्धलेक गाउँपालिकामा अत्याधुनिक प्रविधिको प्रयोग गरी सञ्चालन गरिएको एक दिवसीय विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिद्धलेक गाउँपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय धादिङको समन्वय तथा जापान नेपाल स्वास्थ्य सहयोग संस्था (जन्त्र) को प्राविधिक सहयोगमा चैत १५ गते आईतबार सिद्धलेक वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, बुङचुङमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा कृत्रिम बुद्धिमत्ता एआई युक्त आधुनिक एआई एक्सरे विधिको प्रयोग गरी श्वासप्रश्वास तथा क्षयरोग सम्बन्धी परीक्षण गरिएको थियो। गाउँपालिकाका विभिन्न वडाबाट आएका जम्मा ४९५ जना नागरिकले आफ्नो स्वास्थ्य परीक्षण गराएको प्राविधिक टोलीले बताएको छ।

परीक्षणका क्रममा १६ जनामा क्षयरोग प्रमाणित भएको छ। रोग पुष्टि भएका व्यक्तिहरूलाई तत्कालै आवश्यक औषधि खुवाउन सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ। यस्तै, अन्य २९ जनामा क्षयरोगको शङ्कास्पद लक्षण देखिएकाले थप विस्तृत परीक्षणका लागि उनीहरूको खकारको नमुना सङ्कलन गरी धादिङ अस्पताल पठाइएको छ।

गाउँघरमै विशेषज्ञ सेवा र आधुनिक प्रविधि पुर्‍याउने उद्देश्यले आयोजित यस शिविरले विशेषगरी वृद्धवृद्धा र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत पुर्‍याएको छ। “एआई एक्सरे” प्रविधिले छातीको समस्या र क्षयरोगको पहिचान छिटो र प्रभावकारी रूपमा गर्न सघाउ पुर्‍याएको सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीले जानकारी दिनुभयो ।

सिद्धलेक गाउँपालिकाले आगामी दिनमा पनि यस्ता रोग प्रतिरोधात्मक र उपचारात्मक शिविरहरूलाई निरन्तरता दिने लक्ष्य राखेको दुवाडीले बताउनु भयो ।


Interesting read! The convenience of mobile gaming is a huge draw, and platforms like 666phl games seem to be prioritizing that. Responsible gaming features are key too – a solid sign of a trustworthy site! Definitely worth checking out options.