आज अप्रिल फूल: कसरी सुरु भयो संसारलाई मूर्ख बनाउने चलन?

220 पटक पढिएको

१८ चैत्र २०८२, बुधबार ०६:४७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १८ चैत । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १, जसलाई संसारभर ‘मूर्ख दिवस’ का रूपमा मनाइन्छ। विश्वका कुनै पनि मुलुकले यसलाई औपचारिक दिवसको मान्यता नदिए तापनि सर्वसाधारणले एक–अर्कालाई झुक्याएर वा ख्यालठट्टा गरेर मनोरञ्जन लिने परम्परा रहिआएको छ।

अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्नेबारे कुनै आधिकारिक तथ्य नभए पनि विभिन्न ऐतिहासिक सन्दर्भहरू चर्चामा छन्। मध्यकालमा युरोपका धेरै सहरहरूमा २५ मार्चदेखि नयाँ वर्ष सुरु भएर अप्रिल १ मा अन्त्य हुने गर्दथ्यो। सन् १५८२ मा पोप ग्रेगोरी तेह्रौँले (कतै पोप चार्ल्स नवौँको पनि चर्चा हुने) पुरानो क्यालेन्डर विस्थापित गरी नयाँ रोमन क्यालेन्डर लागू गरे, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्यो। उक्त परिवर्तनपछि पनि कतिपयले अप्रिल १ लाई नै नयाँ वर्ष मानिरहेका थिए, जसलाई अन्य मानिसहरूले ‘मूर्ख’ को संज्ञा दिन थालेको विश्वास गरिन्छ।

त्यस्तै, अर्को प्रसङ्ग अंग्रेजी साहित्यकार जियोफ्रे चान्सरको कृति ‘क्यान्टरबरी टेल्स’ सँग जोडिएको छ। सन् १३९२ मा लेखिएको उक्त पुस्तकमा ‘सिन मार्च बिगन थर्टी डेज एन्ड टु’ उल्लेख छ। यसको अर्थ मार्च सकिएको ३२ औँ दिन अर्थात् अप्रिल २ का दिन इंग्ल्यान्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी एनको ‘इन्गेजमेन्ट’ भएको वर्ष दिन हुन्छ भन्ने थियो। तर, पाठकहरूले यसलाई मार्च महिनाको ३२ औँ दिन भनी बुझे। मार्च ३१ सम्म मात्र हुने भएकाले ३२ औँ दिन अर्थात् अप्रिल १ लाई झुक्याउने दिन वा ‘अप्रिल फूल’ का रूपमा लिइन थालेको अर्को मत छ।

नेपालमा पनि पछिल्लो समय अप्रिल फूल मनाउने चलन बढ्दो छ। विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आजको दिन मानिसहरूले झुटा तर रमाइला जानकारीहरू पोस्ट गरेर आफ्ना साथीभाइ र आफन्तलाई झुक्याउने गरेको पाइन्छ।