आज देशभर हनुमान जयन्ती मनाइँदै

208 पटक पढिएको

१९ चैत्र २०८२, बिहीबार ०७:३६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ , २०८२ चैत १९ । आज चैत्र शुक्ल पूर्णिमा, अर्थात् हिन्दु धर्मावलम्बीहरूका आराध्यदेव, रामभक्त हनुमानको जन्मजयन्ती। देशभरका हनुमान मन्दिरहरूमा विशेष पूजा-आराधना र अनुष्ठान गरी यो पर्व हर्षोल्लासका साथ मनाइँदैछ। हनुमानलाई शक्ति, भक्ति, र साहसको अद्वितीय प्रतीकका रूपमा पुजिने गरिन्छ।

धार्मिक मान्यता अनुसार चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा गर्नाले बल, बुद्धि र विद्या प्राप्त हुने तथा जीवनका सबै प्रकारका दुःख र सङ्कटबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। रामायणका प्रमुख पात्रमध्ये एक हनुमानलाई भगवान् विष्णुको अवतार रामका परम भक्त र संकटमोचकका रूपमा लिइन्छ।

 हनुमान जयन्तीको अवसरमा काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक हनुमान मूर्ति, पशुपति क्षेत्रको हनुमान मन्दिर, र गोकर्णेश्वरमा रहेको पञ्चमुखी हनुमान मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। हनुमानढोका दरबार क्षेत्रभित्रको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्परा अनुसार पुजारीले मात्र विशेष पूजा गर्ने चलन छ। आजको दिन देशभरका विभिन्न स्थानमा हनुमानको शोभायात्रा (रथयात्रा) समेत निकालिने गरिन्छ।

पौराणिक कथाहरूका अनुसार हनुमानकी आमा अञ्जना (श्रापित अप्सरा) र पिता सुमेरु पर्वतका राजा केशरी हुन्। आमा अञ्जनाले भगवान् शिवको कठोर तपस्या गरेपछि प्रसन्न भएका शिवले वायुदेवलाई आफ्नो शक्ति अञ्जनाको गर्भमा स्थापित गरिदिन आज्ञा दिएका थिए। सोही कारण हनुमानलाई ‘पवनपुत्र’ वा ‘वायुपुत्र’ पनि भनिन्छ। अञ्जानेरी पर्वतमा जन्मिएका हनुमानलाई अष्टसिद्धि र नवनिधिको दाता मानिन्छ।