विषादीयुक्त तरकारीप्रति अख्तियारको चासो

581 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : विषादीयुक्त तरकारी बजारमा बिक्रीवितरण भइरहेको प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ। आयोगका आयुक्त लोकमानसिंह कार्कीले आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई डाकेर राजधानीमा भित्रिने विषादीयुक्त तरकारीबारे चासो व्यक्त गरे।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र कृषि विकास मन्त्रालयका सचिव, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, विषादी पञ्जीकरण तथा व्यवस्था शाखासहित अन्य सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाएर विषादीयुक्त तरकारीका बारेमा छलफल गरिएको थियो।agri demo

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार उपभोक्ताले प्रयोग गर्ने तरकारी, फलफूल, दूधजन्य पदार्थ, माछामासुजस्ता खाद्यवस्तुमा व्यापक रूपमा प्रयोग भइरहेको विषादी तथा अखाद्य पदार्थका कारण जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पुग्ने भएकाले तत्कालै गम्भीर भएर नियन्त्रण गर्न आयोग प्रमुख कार्कीले निर्देशन दिएका छन्।

‘आयुक्तज्यूले उत्पादन, वितरण, उपभोगसम्मका विषयमा जनचेतना अभिवृद्धि गरेर तत्कालै प्रभावकारी तथा नतिजामुखी कार्यक्रम सञ्चालन गरी नियमन, नियन्त्रण र अनुगमन गर्न निर्देशन दिनुभएको छ’, प्रवक्ता सापकोटाले भने, ‘यसका लागि योजना बनाएर कृषि विकास मन्त्रालयको नेतृत्वमा तत्कालै उक्त योजना कार्यान्वयनमा ल्याउन सुझाउ पनि दिनुभएको छ।’

छलफलमा सहभागी अधिकारीले यही पुस महिनासम्म विषादी तथा अखाद्य पदार्थको विषयमा उल्लेख्य सुधार गरिने आश्वासन आयोगलाई दिएका थिए। बाली संरक्षण निर्देशनालयका अनुसार सरकारी स्वामित्वको राजधानीको कालीमाटीबजारसहित मुलुकभरका २४ वटा तरकारी थोक बजार र निजी क्षेत्रबाट सञ्चालनमा रहेका अन्य दुई सय ४५ वटा संकलन केन्द्रमा पनि विषादीको परीक्षणबिना नै तरकारी संकलन गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहेको छ।—-अन्नपूर्ण