अमेरिका छिर्ने सपना क्यारेबियन सागरमै बिलिन: ५ वर्षदेखि ७ नेपाली बेपत्ता, एजेन्ट अझै फरार

289 पटक पढिएको

२८ चैत्र २०८२, शनिबार ०८:२३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । अवैध बाटो हुँदै अमेरिका छिर्ने सपना बुनेर हिँडेका ७ नेपाली युवा क्यारेबियन सागरमा बेपत्ता भएको झन्डै पाँच वर्ष बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ। जुन २१, २०२१ (असार ७, २०७८) का दिन कोलम्बियाको निकोक्लीबाट कपुरगाना जाने क्रममा १८ जना सवार ढुंगा आँधीमा परी दुर्घटना हुँदा नेपाली युवाहरू सामुद्रिक लहरमा हराएका थिए।

दुर्घटनामा दाङका रेशम ढेंगा मगर, हेमराज अधिकारी र एन्जल बुढामगरसहित पर्वत, स्याङ्जा र अन्य जिल्लाका गरी ७ नेपाली बेपत्ता भएका हुन्। ८ नेपाली र १० बंगलादेशी सवार उक्त ढुंगाबाट ६ जनाको जीवितै उद्धार गरिए पनि बाँकीको अवस्थाबारे सरकारी निकायहरू अझै बेखबर छन्।

बेपत्ता भएकामध्ये बाँके घर भई तुलसीपुर बस्ने ४३ वर्षीय हेमराज अधिकारीको परिवारले शव नभेटिएपछि ‘कुशको शव’ बनाएर अन्तिम संस्कार गरिसकेका छन्। “दूतावासमार्फत कुनै आशालाग्दो खबर नआएपछि हामीले काजकिरिया गर्‍यौँ,” हेमराजका भाइ ताराले बताए। अन्य परिवारहरू भने अझै पनि कुनै आधिकारिक सूचनाको पर्खाइमा छटपटाइरहेका छन्।

युवाहरूलाई जोखिमपूर्ण बाटोबाट अमेरिका पठाउने मुख्य योजनाकार दाङका ४५ वर्षीय टोपबहादुर जीसी भएको खुलेको छ। उनले प्रतिव्यक्ति ३० देखि ६० लाख रुपैयाँसम्म असुलेर युक्रेन, रुस र दक्षिण अमेरिकी मुलुकका जङ्गल हुँदै अमेरिका पठाउने गरेका थिए।

मानव बेचबिखनको मुद्दामा पटक–पटक पक्राउ परे पनि जीसी कानुनी छिद्रको फाइदा उठाउँदै छुट्ने गरेका छन्। अचम्मको कुरा त, बेपत्ता भएका युवाकै परिवारका अन्य सदस्यलाई उनले पछि पुनः अवैध बाटोबाटै अमेरिका पठाएको फेला परेको छ। हाल उनी नेपालमा नभई संयुक्त अरब इमिरेट्स (यूएई) मा सेल्स म्यानेजरको रूपमा कार्यरत रहेको सरकारी रेकर्डले देखाउँछ।

बेपत्ताका परिवारले परराष्ट्र मन्त्रालय र मानव बेचबिखन अनुसन्धान ब्युरोमा पटक–पटक धाए पनि हालसम्म ठोस नतिजा हात लागेको छैन। ब्राजिलस्थित नेपाली दूतावासले आधिकारिक जानकारी हासिल गर्न नसकिएको बताउँदै आएको छ। इन्टरपोलमार्फत खोजतलासका लागि पत्राचार गरिए पनि एजेन्टहरूको अन्तर्राष्ट्रिय सञ्जाल र फितलो कूटनीतिक पहलका कारण घटना रहस्यमै सिमित बनेको छ।

तस्करीको जालोमा फसेका युवाहरूको यो त्रासदीले वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीको भयावह चित्र प्रस्तुत गरेको छ। एजेन्टहरू राजनीतिक आड र कानुनी दाउपेचमा उम्किरहँदा कैयौँ नेपालीका छोराहरूले विदेशी भूमिमा ज्यान गुमाइरहेका छन्।