तीन जिल्लाका १० वडा गाभेर ‘झोरालाङ गाउँपालिका’ बनाउन पूर्व सभासद गोविन्द राम चेपाङको प्रस्ताव

416 पटक पढिएको

५ बैशाख २०८३, शनिबार ०९:०८ सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल चेपाङ संघका अध्यक्ष एवं पूर्व संविधानसभा सदस्य गोविन्द राम चेपाङले चितवन, धादिङ र मकवानपुरका चेपाङ बाहुल्यता रहेका क्षेत्रहरूलाई समेटेर नयाँ ‘झोरालाङ गाउँपालिका’ स्थापना गर्न प्रस्ताव गर्नुभएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको नाम, सीमा हेरफेर र थपघटका लागि सुझाव माग गरेसँगै उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।

नेता चेपाङका अनुसार प्रस्तावित ‘झोरालाङ गाउँपालिका’ मा चितवनको राप्ती नगरपालिकाका १०, ११, १२ र १३ नम्बर वडा, कालिका नगरपालिकाका १० र ११ नम्बर वडा, धादिङको रोराङ गाउँपालिकाका ८, ९ र १० नम्बर वडा तथा मकवानपुरको राक्सिराङ गाउँपालिकाका ६ र ७ नम्बर वडाहरूलाई गाभ्नुपर्ने उल्लेख छ।

चेपाङ भाषामा ‘झोरालाङ’ को अर्थ ‘नमस्कार’ वा ‘अभिवादन’ हुन्छ। यसअघि पनि चेपाङ समुदायको माग र भावना अनुसार नै धादिङमा ‘वेनिघाट रोराङ’  र मकवानपुरको ‘राक्सिराङ’ गाउँपालिकाको नामाकरण गरिएको थियो। चितवनमा पनि यस्तै पहिचानसहितको गाउँपालिका बनाउने प्रयास भए पनि राजनीतिक सहमतिको अभावमा त्यो रोकिएको थियो।

संविधानको धारा ५६ को उपधारा ५ को संवैधानिक व्यवस्थालाई आधार बनाएर विशेष संरक्षित वा स्वायत्त क्षेत्रको भावना अनुसार यो नयाँ गाउँपालिकाको प्रस्ताव गरिएको उहाँको भनाइ छ। २०६४ सालका संविधानसभा सदस्य एवं मकवानपुरको साविक काँकडा गाविसका पूर्व उपाध्यक्ष समेत रहनुभएका चेपाङले यस विषयमा केन्द्रीय स्तरबाटै पहल गर्ने बताउनुभएको छ।

उहाँले यो अभियानमा साथ दिन राजनीतिक दल, संघीय तथा प्रदेश सांसद, सीमाविद्, नागरिक समाज र सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको छ। सिमान्तकृत चेपाङ समुदायको पहिचान र विकासका लागि यो भौगोलिक पुनर्संरचना कोशेढुङ्गा सावित हुने दाबी गरिएको छ।