धादिङ अस्पतालमा ‘ईएमआर’ सेवा सुरु: अब कागजी झन्झट अन्त्य हुने

335 पटक पढिएको

१४ बैशाख २०८३, सोमबार २०:५७ सम्पादक: धादिङ न्यूज

धादिङ, १४ वैशाख । धादिङ जिल्लाको सदरमुकाम नीलकण्ठ–३ स्थित धादिङ अस्पतालले प्रविधिमैत्री सेवामा ऐतिहासिक फड्को मारेको छ। बागमती प्रदेशअन्तर्गतका १३ सरकारी अस्पतालमध्ये धादिङ अस्पताल इलेक्ट्रोनिक मेडिकल रेकर्ड  प्रणाली कार्यान्वयनमा ल्याउने दोस्रो अस्पताल बनेको छ।

सोमबार अस्पतालमा आयोजित एक विशेष कार्यक्रमका बीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उक्त डिजिटल प्रणालीको औपचारिक शुभारम्भ गर्नुभयो। विश्व स्वास्थ्य सङ्गठन को प्राविधिक सहयोगमा सुरु गरिएको यो प्रणालीले अस्पतालको सम्पूर्ण सेवा प्रवाहलाई आधुनिक र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

प्रणालीको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री किरण थापाले अब बिरामीका सम्पूर्ण स्वास्थ्य विवरणहरू एक ‘क्लिक’मा हेर्न सकिने बताउनुभयो। “सबै स्वास्थ्य सेवा डिजिटल माध्यममा अभिलेखीकरण हुँदा सेवा प्रवाह छिटो, मितव्ययी र प्रभावकारी हुन्छ,” मन्त्री थापाले भन्नुभयो, “यसले स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न ठुलो मद्दत पुर्‍याउँछ।” अब बिरामीहरूले पुरानो रिपोर्ट वा कागजपत्र हराउने चिन्ता नगरी ढुक्कसँग उपचार पाउन सक्ने उहाँको भनाइ थियो।

त्यस्तै, बागमती प्रदेशका स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमले धादिङ अस्पतालले प्रदेशमै दोस्रो अस्पतालका रूपमा यो सेवा सुरु गरेर उदाहरणीय काम गरेको जानकारी दिनुभयो। उहाँका अनुसार यो प्रणालीले देशको जुनसुकै स्थानबाट पनि बिरामीको अनुमतिमा अधिकारप्राप्त स्वास्थ्यकर्मीले उपचारको इतिहास हेर्न सक्ने र तत्काल सही निर्णय लिन सक्ने सुविधा प्रदान गर्दछ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले ईएमआर प्रणालीले बिरामीलाई फाइल बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति दिने बताउनुभयो। यद्यपि, एक सय शैयाको अस्पताललाई सीमित भौतिक संरचनामा सञ्चालन गर्नुपर्दा समस्या भइरहेको उल्लेख गर्दै उहाँले संरचना विस्तार, विशेषज्ञ सेवा थप र आधुनिक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो।

निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले ईएमआर प्रणाली अन्तर्गत अब अस्पतालका सबै सेवाहरू डिजिटल हुने जानकारी दिनुभयो। यस प्रणालीमार्फत बिरामीको टिकट काट्ने, बिलिङ गर्ने, डाक्टरको उपलब्धता बुझ्ने, शैया (Bed) को अवस्था र औषधि मौज्दातको विवरण समेत पारदर्शी रूपमा हेर्न सकिनेछ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवाला, चिकित्सक, नर्स, कर्मचारी तथा स्थानीय प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। यो प्रविधि लागू भएसँगै धादिङ अस्पताल बागमती प्रदेशको स्वास्थ्य सेवामा डिजिटल क्रान्ति गर्ने अग्रणी संस्थाका रूपमा स्थापित भएको छ।