नीलकण्ठ नगरपालिकामा आइचर दुर्घटना, चालकसहित चार जना घाइते

188 पटक पढिएको

१५ बैशाख २०८३, मंगलवार २०:०३ सम्पादक: धादिङ न्यूज

धादिङ, १५ वैशाख २०८३ धादिङको सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिका क्षेत्रमा एउटा आइचर गाडी दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार मंगलबार अपराह्न करिब ४:५० बजे नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो। ओलीडाँडाबाट देविथान सामुदायिक जंगलतर्फ सल्लाको गोलिया लिन जाँदै गरेको ‘वान टेस्ट’ आइचर गाडी अचानक अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त गाडीमा चालकसहित कुल सात जना सवार रहेका थिए। जसमध्ये चार जना घाइते भएका छन् भने अन्य तीन जना सकुशल रहन सफल भएका छन्। घाइते हुनेहरूमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय चालक सुमन अधिकारी, ४ वर्षीय बालक इशान विक, गजुरी गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय अशोक तामाङ र मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का ३२ वर्षीय नवीन प्रजा रहेका छन्। चालक अधिकारीको बायाँ हात र टाउकोमा चोट लागेको छ भने बालक इशानको टाउको र अनुहारमा चोट देखिएको छ। त्यस्तै अशोक तामाङको बायाँ खुट्टा र नवीन प्रजाको टाउको तथा दुवै खुट्टामा चोट लागेको प्रहरीले विवरण सार्वजनिक गरेको छ।

घटनास्थलमा स्थानीयवासी र प्रहरी टोलीले तत्काल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उद्धार लगत्तै घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ। गाडी भिरमा खसेर भएको यस दुर्घटनाको वास्तविक कारणबारे जिल्ला प्रहरी कार्यालय धादिङले थप अनुसन्धान गरिरहेको जनाएको छ। ओरालो र साँघुरो सडकमा भारवाहन सवारी अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।