स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको भन्दै कारबाहीका लागि धादिङ अस्पतालको उजुरी

282 पटक पढिएको

१३ जेष्ठ २०८३, बुधबार २१:२१ सम्पादक: धादिङ न्यूज

धादिङ, १३ जेठ । धादिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा भिडियो र अफवाह फैलाइएको घटनाप्रति अस्पताल प्रशासनले कडा आपत्ति जनाउँदै कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। गत २०८३ जेठ ११ गते सोमबार अस्पतालको ड्रेसिङ शाखामा सेवाग्राहीको अत्यधिक चापका कारण कर्मचारीहरूले खाजा खाने समय समेत नपाएर आफ्नो ड्युटी कक्षमै खाजा खाइरहेको अवस्थामा ज्वालामुखी गाउँपालिका–४ निवासी सुगम बाँडाले विना अनुमति अनाधिकृत रूपमा भिडियो खिचेका थिए। उक्त भिडियोलाई विभिन्न मिडिया र सामाजिक सञ्जालमा सम्प्रेषण गरी न्यूनतम मानवता समेत ख्याल नगरी प्रचलित ऐन नियम विपरीत अफवाह फैलाइएको र कार्यरत महिला कर्मचारीको समेत चरित्र हत्या गरिएको अस्पतालको ठहर छ।

यस घटनाका विषयमा सम्बन्धित शाखामा कार्यरत कर्मचारीले उजुरी दिएपछि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय धादिङलाई आवश्यक छानबिन गरी कारबाही गर्न अनुरोध सहितको पत्र पठाएको छ भने कारबाही प्रक्रियाको सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय धादिङलाई समेत बोधार्थ जानकारी गराइएको छ। अस्पतालले पछिल्लो समय स्वास्थ्यकर्मीमाथि हुने यस्ता अभद्र व्यवहार, गालिगलौज र अनाधिकृत भिडियो खिच्ने कार्यले कर्मचारीहरूको मनोबल गिरेको र कार्यस्थल असुरक्षित बनेको भन्दै सुरक्षित वातावरण निर्माण गरिदिन प्रशासनसँग माग गरेको छ।