सल्यानटारबाट धादिङबेसी आउँदै गरेको इको भ्यान दुर्घटना, ७ जना घाइते (विवरणसहित)

208 पटक पढिएको

२० जेष्ठ २०८३, बुधबार १८:२४ सम्पादक: धादिङ न्यूज

धादिङ । नरसिंह धाम दर्शन गरेरधादिङको सल्यानटारबाट धादिङबेसीतर्फ आउँदै गरेको एक यात्रुवाहक भ्यान निलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित माथिल्लो टारिबेशी नजिकै सडकमा दुर्घटना भएको छ। बागमती प्रदेश BAF ०२२३ नम्बरको मारुती इको भ्यान आज दिउँसो करिब १:३० बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी भ्यानमा सवार ७ जना यात्रुहरू घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी दिउँसो करिब २:३० बजे उपचारका लागि धादिङ अस्पताल पुर्‍याइएको अस्पताल प्रशासनले जनाएको छ। धादिङ अस्पतालका सूचना अधिकारी डा. अस्मिता कटुवाल क्षेत्री र निमित्त अस्पताल निर्देशक डा. नवीन महासेठद्वारा जारी आधिकारिक पत्र अनुसार अस्पताल ल्याइएका सबै ७ जना घाइतेहरूको अवस्था प्राथमिक उपचार पछि थप उपचारका लागि रिफर गरिएको छ।

अस्पतालका अनुसार घाइते हुनेहरूमा भक्तपुर सूर्यविनायक–५ का ५४ वर्षीय श्याम कृष्ण धुख्वा र सूर्यविनायक–७ का ५३ वर्षीय नुच्छे बहादुर कोजु रहनुभएको छ, जसको अवस्था गम्भीर रहेकाले रिफर गरिएको छ। त्यस्तै ललितपुर महालक्ष्मी–७ का ५२ वर्षीय राजेन्द्र महर्जनको अवस्था पनि गम्भीर रहेको र उहाँलाई पनि थप उपचारका लागि अन्यत्र पठाइएको अस्पतालले जनाएको छ।

यसै गरी दुर्घटनामा परी मध्यम घाइते हुनुभएका भक्तपुर सूर्यविनायक–१ का ५८ वर्षीय राजेन्द्र कार्की, सूर्यविनायक–५ का ५५ वर्षीय पूर्ण बहादुर वासु, सूर्यविनायक–४ का ७२ वर्षीय श्याम खड्का र सूर्यविनायक–५ का ५५ वर्षीय परशुराम कोईरालालाई पनि प्रारम्भिक उपचार पश्चात रिफर गरिएको छ। दुर्घटनाको थप विवरण र कारणबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।