धादिङपोष्टको १२औँ वार्षिकोत्सव: ‘धादिङ चिनारी’ सार्वजनिक, विभिन्न व्यक्तित्व सम्मानित
190 पटक पढिएको
धादिङबेसी, २२ जेठ । धादिङ जिल्लाबाट संचालित धादिङ पोष्ट डट कम अनलाइनले १२ औं बार्षिकोत्सव जेठ २२ गते शुक्रवार धादिङबेसीमा विभिन्न कार्यक्रमका साथ मनाएको छ । विश्व वातावरण दिवसको अवसर पारेर जेठ २२ गते धादिङबेसीमा आयोजित विशेष समारोहका बीच अनलाइनले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको हो।
वार्षिकोत्सवका अवसरमा ‘धादिङ चिनारी’ नामक किताब (स्मारिका) सार्वजनिक गरिएको छ। ग्यानोभेसन अनुसन्धान केन्द्रको सहकार्यमा प्रकाशित सो किताबमा धादिङ जिल्लाको परिचय, ऐतिहासिक पृष्ठभूमि र अनलाइन पत्रकारितासँग सम्बन्धित विविध जानकारीहरू समेटिएका छन्।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख ढुङ्गानाले जिल्लाको विकास र समाज रूपान्तरणमा धादिङपोष्टले निर्वाह गर्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँले गाउँ-गाउँका आवाजलाई डिजिटल माध्यमबाट राष्ट्रिय स्तरमा पुर्याउन अनलाइनले खेलेको भूमिका प्रेरणादायी रहेको बताउनुभयो।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने सङ्घसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो। जसमा शिक्षा क्षेत्रबाट प्याब्सन धादिङ र सुरेन्द्र शाह, साहित्यतर्फ डा. नवीनबन्धु पहाडी, पत्रकारितामा नेपाल पत्रकार महासंघ धादिङ र पत्रकार बद्री अधिकारी, खेलकुदमा जिल्ला खेलकुद विकास समिति, कृषि क्षेत्रमा मण्डली फ्रुट एन्ड भेजिटेबल सप्लायर्स तथा यातायात क्षेत्रमा ग्रामीण यातायात धादिङ प्रालि सम्मानित भएका छन्। यसैगरी, सामाजिक सेवातर्फ अन्तर्राष्ट्रिय धादिङ समाज, उदीयमान जनसेवामा विजय तामाङ र विशेष प्रशंसातर्फ उत्तम भट्टलाई सम्मान गरिएको थियो भने एड्भान्स एकेडेमीलाई विशेष सहयोगका लागि सम्मान प्रदान गरियो।
कार्यक्रममा धादिङपोष्टका सम्पादक राजाराम रिजालले स्वागत मन्तव्य राख्दै अनलाइनको उद्देश्य र प्रकाशित स्मारिकाको महत्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा रास्वपाका सूर्यमणि पाठक, नेपाली कांग्रेसका नवराज तिमल्सिना, कार्यक्रमलाई अनलाइन मिडिया सोसाईटी धादिङका अध्यक्ष केशव अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष मनिष दुवाडीका लगायतले शुभकामना मन्त्वय राख्नु भएको थियो ।
कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्मा लगायत राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो। ईशा थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अन्त्यमा प्रधान सम्पादक नारायण सिलवालले १२ वर्षसम्म निरन्तर माया, विश्वास र साथ दिने पाठक, लेखक, विज्ञापनदाता तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो।








https://shorturl.fm/gDIHG
https://shorturl.fm/skjEa