किताबी ज्ञानसँगै सीप र संस्कृति: रुवीभ्यालीको मुक्रापदेवी मावि बन्दैछ धादिङकै नमूना
210 पटक पढिएको
रुवीभ्याली, धादिङ: विकट भूगोल र चुनौतीका बीच पनि धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४, बोराङस्थित मुक्रापदेवी माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा एक नयाँ र प्रेरणादायी अध्यायको सुरुवात गरेको छ। विद्यालयले अब पठनपाठनसँगै विद्यार्थीहरूलाई व्यवहारिक, सीपमूलक र संस्कारयुक्त शिक्षा प्रदान गर्ने ऐतिहासिक निर्णय गरेको छ।
शुक्रबार विद्यालयमा आयोजित एक बृहत अभिभावक भेलाले विद्यालयलाई केवल किताबी ज्ञान दिने थलोमा मात्र सीमित नराखी, ‘सीप र संस्कृतिको केन्द्र’ का रूपमा विकास गर्ने सर्वसम्मत निर्णय गरेको हो। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, जनप्रतिनिधि र स्थानीय समुदायको सक्रिय सहभागितामा सम्पन्न उक्त भेलाले विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि केही महत्वपूर्ण योजनाहरू पारित गरेको छ।
विद्यालयका प्रधानाध्यापक तीर्थराज सुवेदीले नेतृत्व सम्हालेयता विद्यालयको शैक्षिक वातावरणमा नयाँ ऊर्जा र उत्साह थपिएको छ। विकट भौगोलिक अवस्थालाई चुनौती दिँदै विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यावहारिक शिक्षा दिने उद्देश्यका साथ उहाँकै विशेष अग्रसरता र स्थानीय समुदायको पहलमा विद्यालयले आफ्नै नाममा रहेको खाली जग्गा सदुपयोग गर्ने योजना अघि सारेको हो।
प्रधानाध्यापक सुवेदीका अनुसार, विद्यालयको नाममा रहेको ७ रोपनी २ आना जग्गामा अब हरियाली छाउनेछ। विद्यालयले ‘सेचेन करुणा संस्था’ सँग २०० बोट बाँस, १०० बोट सुन्तला र ५० बोट टिमुरका बिरुवा माग गर्ने निर्णय गरेको छ। “हामी बिरुवा रोप्ने मात्र होइन, विद्यार्थीहरूलाई प्रकृतिसँग जोडेर आत्मनिर्भर बनाउन चाहन्छौँ,” सुवेदीले बताउनुभयो। “विद्यार्थीहरूले कृषि र फलफूल खेतीको प्रविधि बुझ्नेछन्, जसले गर्दा उनीहरू भविष्यमा सीपयुक्त नागरिक बन्न सकून्।”
भेलाले बाल क्लबमार्फत विद्यालयमै आधुनिक ‘टनेल खेती’ सञ्चालन गर्ने निर्णय गरेको छ। यसले विद्यार्थीहरूमा श्रमप्रतिको सम्मान र कृषि प्रविधिबारे व्यावहारिक सीप विकास गर्ने विश्वास विद्यालय प्रशासनको छ। यसका साथै, कृषि र फलफूल खेतीबाट हुने उत्पादनले भविष्यमा विद्यालयको दिगो आयआर्जनमा समेत टेवा पुग्ने र यसले विद्यालयको आर्थिक पक्षलाई पनि बलियो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
वोराङ क्षेत्र मुख्यतया तामाङ समुदायको बसोबास रहेको क्षेत्र हो। विद्यालयले स्थानीय संस्कृति र परम्परालाई संरक्षण र संवर्द्धन गर्नका लागि एक नौलो र प्रेरणादायी निर्णय गरेको छ। अब प्रत्येक आइतबार विद्यालयमा विशेष अतिरिक्त कार्यक्रम हुनेछ। उक्त दिन विद्यार्थीहरू अनिवार्य रूपमा स्थानीय तामाङ पोशाकमा सजिएर विद्यालय आउनेछन्।
यो दिन विद्यालयमा स्थानीय अग्रज व्यक्तित्वहरूलाई अतिथि शिक्षकको रूपमा आमन्त्रण गरिनेछ। उहाँहरूले विद्यार्थीहरूलाई तामाङ भेषभुषा, रीतिरिवाज, चालचलन, मातृभाषा र स्थानीय सामग्री निर्माणका मौलिक सीपबारे ज्ञान र अनुभव बाँड्नुहुनेछ। यसबाट विद्यार्थीहरूले आफ्नो मातृभाषा र समृद्ध संस्कृतिबारे थप बुझ्ने र गौरव गर्ने मौका पाउनेछन्।
विकटताका बाबजुद पनि मुक्रापदेवी माविले सीप, संस्कृति र व्यवहारिक शिक्षालाई जोडेर अघि बढ्ने यो निर्णय अभिभावकहरूका लागि निकै उत्साहजनक बनेको छ। प्रधानाध्यापक सुवेदीको दूरदर्शी सोच र स्थानीय समुदायको ऐक्यबद्धताले मुक्रापदेवीलाई धादिङकै एक नमूना विद्यालय बनाउने लक्ष्यमा ठूलो टेवा पुग्ने देखिएको छ।
आजको समयमा केवल किताबी ज्ञानले मात्र विद्यार्थीको सर्वांगीण विकास सम्भव छैन। त्यसैले मुक्रापदेवी माविले थालेको यो अभियान अन्य विद्यालयहरूका लागि पनि एक उत्कृष्ट सिकाइ र उदाहरण बन्न सक्छ। सीप, संस्कृति र व्यवहारिक शिक्षालाई मूल प्रवाहको शिक्षासँग जोड्न सकेमात्र देशको शिक्षा प्रणाली साँच्चिकै प्रभावकारी हुने कुरालाई यस विद्यालयले प्रमाणित गर्न खोजेको छ।








https://shorturl.fm/gDIHG