गल्छी गाउँपालिकाले ल्यायो ६७ करोड ६० लाखको बजेट
188 पटक पढिएको
धादिङ- गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १ सय २९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। असार ८ गते सोमबार गाउँपालिकाको सभाहलमा आयोजित १५ औं गाउँसभाको अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पारित गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेका हुन्। गाउँपालिकाको आन्तरिक आयबाट १६ करोड ५८ लाख ९१ हजार ८ सय २४ रुपैयाँ र नगद मौज्दातबाट ५ करोड रुपैयाँ अनुमान गरिएको छ। संघीय सरकारबाट राजस्व बाँडफाँड बापत ८ करोड ९९ लाख ५८ हजार, वित्तीय समानीकरण बापत १३ करोड ५८ लाख र सशर्त अनुदान (चालु) बापत १८ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
प्रदेश सरकारबाट राजस्व बाँडफाँड (सवारी कर) बापत ३ करोड २९ लाख ३० हजार ३ सय ५ रुपैयाँ, वित्तीय समानीकरण बापत १ करोड २७ लाख ४४ हजार, सशर्त अनुदान बापत २ करोड १७ लाख १९ हजार, समपूरक अनुदान बापत २ करोड ३४ लाख र विशेष अनुदान बापत ५० लाख रुपैयाँ बजेट प्राप्त भएको छ।
सबै वडाहरूका लागि ३ करोड ४० लाख, पालिकास्तरीय योजनाका लागि ३ करोड ५० लाख, सडक तथा सार्वजनिक संरचना निर्माण (विविध) का लागि ७० लाख, शाखास्तरीय कार्यक्रमका लागि ९ करोड ३७ लाख ६४ हजार १ सय २९ रुपैयाँ, गत वर्षको दायित्व भुक्तानीका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, समपूरक प्रदेश योजनामा ३ करोड ५१ लाख, स्थानीय विशेष योजनामा २ करोड ५० लाख र साझेदारी कार्यक्रमका लागि १ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। साथै, संघीय सशर्त चालुतर्फ १८ करोड ८६ लाख र सामान्य चालु खर्चतर्फ १२ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।
बजेट प्रस्तुत हुनुअघि गाउँपालिकाका अध्यक्ष केदार नाथ खतिवडाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जसलाई गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको छ। विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ।








https://shorturl.fm/OnSgf
https://shorturl.fm/ALAfQ