कालीमाटी तरकारी बजारमा भेटियो विषादीयुक्त रायोको साग: उपभोगका लागि अयोग्य घोषित, नष्ट गरिने
132 पटक पढिएको
काठमाडौँ, १६ असार । काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट आयात गरिएको रायोको सागमा तोकिएको मापदण्डभन्दा अत्यधिक बढी विषादीको अवशेष फेला परेको छ । विषादीको मात्रा उच्च भेटिएसँगै उक्त तरकारी मानव स्वास्थ्यका लागि घातक र खान अयोग्य ठहरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असार १६ गते सार्वजनिक गरेको दैनिक परीक्षण प्रतिवेदनअनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट कालीमाटी ल्याइएको रायोको सागमा उक्त घातक विषादी फेला परेको हो ।
प्रयोगशालाका अनुसार उक्त रायोको सागको नमुनामा अर्गानोफस्फेट समूहको विषादीको अवशेष ८०.०१६० प्रतिशत फेला परेको छ, जुन सरकारले तोकेको सुरक्षित मापदण्डभन्दा झन्डै दोब्बर बढी हो । अत्यधिक विषादीका कारण उक्त सागलाई तत्काल ‘विसर्जन गर्ने’ अर्थात् नष्ट गर्ने श्रेणीमा राखिएको छ । उक्त तरकारी भक्तपुरकी स्थानीय किसान सीता रेग्मीको उत्पादन रहेको प्रतिवेदनमा उल्लेख छ । कालीमाटी बजारमा भित्रिएका तरकारीहरूको आकस्मिक नमुना संकलन गरी परीक्षण गर्दा यो तथ्य बाहिर आएको हो । खान सर्वथा अयोग्य ठहरिएपछि उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त रायोको सागलाई बजारमा बिक्री-वितरण गर्न रोक लगाउँदै तत्काल नष्ट गर्ने निर्णय गरिएको छ ।
प्रयोगशालाले आज कालीमाटी बजारमा भित्रिएका कुल १२ वटा तरकारीका नमुनाहरूमा विषादीको मात्रा परीक्षण गरेको थियो । परीक्षण गरिएका नमुनाहरूमा रायोको सागसँगै हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडालगायतका दैनिक उपभोग्य तरकारीहरू समावेश थिए । रायोको सागबाहेक अन्य ११ वटा तरकारीका नमुनाहरू भने उपभोगका लागि पूर्ण रूपमा सुरक्षित सीमाभित्र पाइएको प्रयोगशालाले स्पष्ट पारेको छ । ती नमुनाहरूमा विषादीको अवशेष तोकिएको मापदण्डभन्दा निकै कम रहेकाले बजारमा निर्वाध बिक्री-वितरण तथा उपभोगका लागि उपयुक्त ठहर गरिएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले बजारमा भित्रिने तरकारी तथा फलफूलमा पाइने विषादीको अवशेषका आधारमा तिनलाई मुख्यतः तीनवटा वर्गमा वर्गीकरण गरी व्यवस्थापन गर्ने गर्दछ । कानुनी व्यवस्थाअनुसार यदि तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम छ भने त्यसलाई स्वास्थ्यका लागि सुरक्षित मानी बजारमा बिक्रीको अनुमति दिइन्छ । त्यस्तै, विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा त्यस्ता तरकारीलाई केही दिनका लागि क्वारेन्टाइनमा ‘होल्ड’ गरेर राखिन्छ र विषादीको प्रभाव कम भएपछि पुनः परीक्षण गरेर मात्र बजारमा पठाइन्छ ।
तर, विषादीको अवशेष ४५ प्रतिशतभन्दा बढी पाइएमा भने त्यो मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने भएकाले त्यस्ता तरकारी वा फलफूललाई जफत गरी अनिवार्य रूपमा नष्ट गर्नुपर्ने नियम छ । अहिले बरामद गरिएको रायोको सागमा मापदण्डभन्दा निकै माथि अर्थात् ८० प्रतिशतभन्दा बढी विषादी पाइएकाले यसले जनस्वास्थ्यमा गम्भीर खतरा निम्त्याउन सक्ने भन्दै सरोकारवालाहरूले उपभोक्ताहरूलाई तरकारी खरिद र उपभोग गर्दा विशेष सचेत रहन आग्रह गरेका छन् ।








https://shorturl.fm/WagpQ
https://shorturl.fm/WdOk6