महँगो मूल्यमा मल बिक्री गर्दा दुवाडी एग्रो भेटमा जिल्ला प्रशासनको छापा

205 पटक पढिएको

२६ असार २०८३, शुक्रबार ०१:०० सम्पादक: धादिङ न्यूज

धादिङबेसी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्‍यापिड एक्सन टिम (र्‍याट) ले गरेको ‘नागरिक दबाब पछि जिल्ला प्रशासन कार्यालय धादिङले बजारमा महँगो मूल्यमा मल बिक्री गरिरहेको पसलमा अनुगमन  गरेको छ। अनुगमनका क्रममा बिल-बिजक बिना भारतीय रासायनिक मल बिक्री गरिरहेको फेला परेपछि प्रशासनले धादिङबेसी पुछारबजारस्थित दुवाडी एग्रोभेटको मल बिक्रीमा तत्काल रोक लगाएको छ।

यसै गरी सोही  नीलकण्ठ नगरपालिका–८ मा लुकाएर भण्डारण गरिएको अवस्थामा  थप ९० बोरा मल फेला परेको छ ।

दुवाडी एग्रोभेटमा महँगो मूल्यमा रासायनिक मल बिक्री भइरहेको सूचना प्राप्त भएपछि रास्वपाको र्‍याट टोलीले आफ्ना सदस्य दुर्गा वस्तीलाई किसानका रूपमा मल खरिद गर्न पठाएको थियो। वस्तीले मल खरिद गरेपछि बिल माग्दा एग्रोभेटले बिल उपलब्ध गराउन नमिल्ने जनाएका थिए।

त्यसपछि र्‍याट धादिङका अध्यक्ष दीपक अधिकारी, सदस्य दुर्गा वस्ती, राम तामाङ लगायतको टोली खरिद गरिएको मललाई प्रमाणका रूपमा लिएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बजारमा बिक्री भइरहेको उक्त मलको तत्काल अनुगमन गर्न आग्रह गरेपछि प्रशासनको टोलीले बिहीबार दिउँसो दुवाडी एग्रोभेटमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा विक्रेतासँग खरिद तथा बिक्रीसम्बन्धी बिल–बिजक मागिएको भए पनि तत्काल उपलब्ध गराउन नसकेपछि प्रशासनले उक्त मल अर्को निर्णय नभएसम्म बिक्री–वितरण नगर्न निर्देशन दिएको छ।

एग्रोभेट सञ्चालक बोध नाथ दुवाडीले भने भारतीय रासायनिक मल १७० बोरा आएको र किसानको अत्यधिक मागका कारण प्रतिबोरा २ हजार ७ सय ५० रुपैयाँमा खरिद गरी २ हजार ९ सय रुपैयाँमा बिक्री गरेको दाबी गरे। उनका अनुसार उक्त मल कुनै कम्पनी वा संस्थाबाट नभई ‘थर्डपार्टी’ मार्फत प्राप्त भएकाले खरिदसम्बन्धी औपचारिक बिल उपलब्ध नभएको हो।

यसै बीच, अनुगमनकै क्रममा नीलकण्ठ नगरपालिका–८ मा  रासायनिक मल लुकाएर भण्डारण गरिएको अवस्थामा भेटिएको छ। सो ठाउँमा खोजी गर्दा सेतो बोरा ३० र पहेँलो बोरा ६० गरी जम्मा ९० बोरा मल फेला परेको हो।

र्‍याट धादिङका अध्यक्ष दीपक अधिकारीले दुवाडी एग्रोभेट नीलकण्ठ नगरपालिका–७, १२ र १३ वडामा सरकारी अनुदानको रासायनिक मल वितरण गर्ने आधिकारिक डिलरसमेत रहेको खुलेको बताएका छन्।  सरकारी मल अभाव भइरहेका बेला  बिलबिनाको भारतीय मल लुकाएर महँगोमा बिक्री गर्नु गम्भीर विषय भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न अधिकारीले माग गरे।

जिल्ला प्रशासन कार्यालयले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।