गल्छी गाउँपालिकामा ‘एआई-एक्सरे’ प्रविधिबाट क्षयरोगको निःशुल्क स्क्रिनिङ सम्पन्न
159 पटक पढिएको
गल्छी, धादिङ – गल्छी गाउँपालिकामा अत्याधुनिक ‘एआई-एक्सरे’ प्रविधिमार्फत समुदायस्तरमै सक्रिय क्षयरोगको खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूको शीघ्र पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्यले आयोजित यस कार्यक्रमबाट ठूलो संख्यामा स्थानीय नागरिक लाभान्वित भएका छन्।
कार्यक्रमको पहिलो दिन, २०८३ असार २५ गते बिहीबार बैरेनी अस्पतालमा २४५ जनाको छातीको एक्सरे गरी स्क्रिनिङ गरिएको थियो। परीक्षणका क्रममा २ जनामा ‘पिसीडी’ क्षयरोगको संक्रमण पुष्टि भएको छ भने अन्य शंकास्पद २७ जनाको खकार नमुना परीक्षण गरिएको छ।
त्यसैगरी, दोस्रो दिन असार २६ गते शुक्रबार मासटार सामुदायिक भवनमा सञ्चालित शिविरमा २७५ जनाले सेवा लिएका छन्। सो दिन पनि रोगको लक्षणसँग मिल्दाजुल्दा शंकास्पद देखिएका २० जनाको खकार नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ। दुई दिनसम्म चलेको यस अभियानमा कुल ५२० जनाको स्वास्थ्य जाँच गरिएको छ।
गल्छी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज रेग्मीका अनुसार समुदायमा लुकेका क्षयरोगीका कारण अन्य स्वस्थ व्यक्तिमा पनि संक्रमण सर्ने जोखिम उच्च रहन्छ। त्यसैले एआई प्रविधिको प्रयोग गरी क्षयरोगमुक्त गाउँपालिका बनाउने अभियान अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। प्रमुख रेग्मीले पहिचान भएका बिरामीहरूलाई गाउँपालिकाले तत्कालै निःशुल्क औषधि र नियमित परामर्शसहित उपचारको दायरामा ल्याउने जानकारी समेत दिनुभयो।
परम्परागत विधिभन्दा छिटो र भरपर्दो मानिने एआई-एक्सरे प्रविधिमार्फत गरिएको यस कार्यक्रमले क्षयरोगको जोखिममा रहेका व्यक्तिहरूलाई समयमै पहिचान गर्न सहज बनाएको छ। गाउँपालिकाले समुदायमा क्षयरोग नियन्त्रणका लागि थालेको यस अभियानले जनस्वास्थ्य प्रवर्धनमा थप टेवा पुर्याउने विश्वास लिइएको छ। स्थानीय तहमा अत्याधुनिक स्वास्थ्य प्रविधिको पहुँच पुर्याउँदै आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिइने स्वास्थ्य शाखाले जनाएको छ।








https://shorturl.fm/g3Yym