फिफा विश्वकप २०२६: स्पेन र अर्जेन्टिनाबीचको फाइनल महाभिडन्त एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

145 पटक पढिएको

३ श्रावण २०८३, आईतवार १०:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ३ साउन । विश्व फुटबलकै सबैभन्दा ठूलो महाकुम्भ ‘फिफा विश्वकप २०२६’  को बहुप्रतीक्षित फाइनल खेल नेपाली फुटबल समर्थकहरूले  निःशुल्क रूपमा हेर्न पाउने भएका छन्। उपाधिका लागि आज मध्यराति अर्थात् साउन ५ गते नेपाली समय अनुसार ठीक १२:४५ बजे पूर्व विजेता स्पेन र डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना भिड्दै छन्।

फिफा विश्वकप २०२६ को फाइनल खेल जुलाई १९, २०२६ मा अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क न्यु जर्सी स्टेडियम (मेटलाइफ स्टेडियम) मा हुँदैछ। नेपालको समयअनुसार यो खेल जुलाई २० को मध्यराति १२:४५ बजे (साउन ४ गते) सुरु हुनेछ।

यस ऐतिहासिक फाइनल खेललाई नेपाल टेलिभिजनको खेलकुद च्यानल ‘एनटीभी प्लस’ ले प्रत्यक्ष प्रसारण गर्ने  भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले सामाजिक सञ्जालमार्फत यो महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्नुभएको हो। मन्त्री तिम्सिनाका अनुसार, नेपाली खेलप्रेमीहरूको ठूलो चासो, उत्साह र भावनालाई मध्यनजर गर्दै विश्वकपको यो निर्णायक खेल कुनै पनि अतिरिक्त शुल्कबिनै सरकारी टेलिभिजन च्यानल एनटीभी प्लसबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको हो।

यसअघि विश्वकपका अन्य खेलहरू हेर्नका लागि नेपाली दर्शकहरूले पे–टिभी वा विभिन्न सशुल्क डिजिटल प्लेटफर्महरू खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको थियो। तर, फाइनल खेलका लागि सरकारले गरेको यस विशेष व्यवस्थासँगै आम नेपाली फुटबलप्रेमीहरूले महँगो शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भएको छ।

यो निर्णयपछि अब देशभरका कुना–काप्चामा रहेका फुटबल प्रशंसकहरूले कुनै पनि अतिरिक्त आर्थिक भारबिना नै विश्वकपको यो ऐतिहासिक र रोमाञ्चक फाइनल भिडन्तको प्रत्यक्ष मजा लिन पाउनेछन्। मन्त्री तिम्सिनाको यो घोषणासँगै नेपाली फुटबल प्रेमीहरूमाझ थप उत्साह र उमङ्ग थपिएको छ।