रास्वपा सांसद आशिका तामाङ वित्तीय विवादमा तानिइन्- कुस्मा बुढाथोकी भन्छिन् “चेक किर्ते र ब्ल्याकमेलिङ गरियो”
209 पटक पढिएको
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य आशिका तामाङ यतिबेला आफ्नो राजनीतिक र सामाजिक भूमिकाभन्दा बाहिर निस्केर एउटा भिन्नै पारिवारिक तथा वित्तीय विवादका कारण चर्चामा छिन्।
जर्मन नागरिक थोमस इन्टेकोफरसँग विवाह गरी दुई सन्तानकी आमा बनेकी आशिका नेपालको सांसद भए पनि उनका श्रीमान् भने विदेशी नागरिक हुन्। अहिले उनी तिनै श्रीमान्को विगतको हिसाबकिताब र वित्तीय लेनदेनको विषयलाई लिएर भक्तपुरकी कुस्मा बुढाथोकीविरुद्ध कानुनी लडाइँमा उत्रिएकी छन्।
यस प्रकरणको मुख्य केन्द्रमा छिन्- हाल अमेरिकामा बसोबास गर्दै आएकी नेपाली युवती कुस्मा बुढाथोकी। चाखलाग्दो कुरा त के छ भने, सांसद आशिकालाई उनका जर्मन श्रीमान् थोमससँग परिचय गराइदिने व्यक्ति तिनै कुस्मा थिइन्।
धादिङको गजुरी गाउँपालिका स्थायी ठेगाना भएकी आशिका तामाङले जिल्ला प्रशासन कार्यालय धादिङबाट ५३८६ नम्बरको नेपाली नागरिकता लिएकी छिन्। सन् २०१० मा जर्मनी पुगेकी आशिकाले सन् २०१४ जुन २ मा ०७४५११५६ नम्बरको नेपाली राहदानी लिएर स्टाफ नर्स अध्ययनका लागि पुनः जर्मनी गएकी थिइन्।
आशिकाका अनुसार त्यतिबेला थोमस कुस्मा बुढाथोकीसँग सम्बन्धमा थिए। थोमस र आशिकाले सन् २०१२ मा विवाह गरे। हाल उनीहरूका १० वर्षका छोरा र ५ वर्षकी छोरी छन्।
सांसद तामाङले सन् २०१७ नोभेम्बर ७ (२०७४ कात्तिक २१) मा जर्मनीको स्थायी आवासीय अनुमति (पिआर) प्राप्त गरेकी थिइन्। पछिल्लो पटक सन् २०२३ जुन ९ मा पिए १७८८६८४ नम्बरको नेपाली राहदानी बनाएकी उनले २०८२ असारमा जर्मनी पुगेर म्याद सकिएको पिआर कार्ड नवीकरण गराई ९२५१६८ नम्बरको नयाँ कार्ड लिएकी थिइन्, जसको म्याद सन् २०३३ जुन ८ सम्म कायम छ।
सांसद तामाङका अनुसार आशिका र थोमसको विवाह हुनुअघि चाइल्ड केयर भिसामा जर्मनी पुगेकी कुस्मा थोमससँग निकट थिइन्। विवाह गर्ने शर्त र नेपालमा एमबीबीएस अध्ययन गर्ने बहानामा कुस्माले थोमससँग १ लाख २८ हजार युरो (करिब १ करोड ३५ लाख रुपैयाँ) लिएको आशिकाको दाबी छ।
रकम हात परेपछि कुस्माले सो पैसा नेपालमा रहेका आफ्ना अर्का प्रेमीको खातामा हाल्न लगाई २०७० सालमा ‘एटीएम’ नामक चलचित्र निर्माणमा लगानी गरेको र चलचित्र डुबेपछि थोमसलाई छाडिदिएको आशिकाले बताउँदै आएकी छिन्। धोका पाएपछि थोमस नेपालस्थित जर्मन दूतावाससम्म पुगेर कानुनी प्रक्रिया अघि बढाउने तयारीमा रहेका बेला, एउटा व्यक्तिको गलत व्यवहारका कारण नेपाल र नेपालीको इज्जतमा असर नपरोस् भनेर आफूले थोमससँग विवाह गरी परिस्थिति साम्य बनाएको तामाङको भनाइ छ।
सुरुमा सो रकमको आस मारिसकेका भए पनि आफू प्रतिनिधि सभा सदस्य भइसकेपछि कुस्माले नेपालका अन्य पुरुषहरूलाई पनि यसै गरी जालमा पारेर ठगेको थाहा पाएपछि कानुनी लडाइँमा ओर्लिएको आशिकाले जनाएकी छन्।
यसै क्रममा झापाका जीवन बास्कोटा (जोसँग पनि कुस्माले ६-७ वर्ष बसेर, सेयर बजार र ऋण तिर्ने बहानामा करिब २ करोड ९२ लाख रुपैयाँ ठगी गरी अर्कै व्यक्तिसँग अमेरिका गएको आरोप छ) सँग मिलेर सांसद तामाङले प्रहरीमा मद्दत मागेकी छन्। कुस्माले दिएको १ करोड ३५ लाख रुपैयाँको चेक बाउन्स भइसकेको र ४५ दिनको कानुनी हदम्याद पूरा हुने बित्तिकै औपचारिक उजुरी दर्ता गरी कडा कारबाही गराउने तयारी भइरहेको उनको भनाइ छ।
विभिन्न सञ्चारमाध्यममा समाचार आउन थालेपछि र सामाजिक सञ्जालमा टीका-टिप्पणी बढेपछि सत्य सार्वजनिक गर्न बाध्य भएको बताउँदै सांसद तामाङले यो कुनै व्यक्तिगत प्रतिशोध नभई कानुनको शासन र दायित्वबोधका कारण चालिएको कदम भएको स्पष्ट पारेकी छन्।
कुस्मा बुढाथोकीको कडा खण्डन: “चेक किर्ते र ब्ल्याकमेलिङ गरियो, निष्पक्ष छानबिन होस्”
सांसद आशिका तामाङ र जीवनप्रसाद बास्कोटाले वित्तीय लेनदेन तथा ठगीको आरोप लगाएपछि हाल अमेरिकामा बसोबास गर्दै आएकी भक्तपुरकी कुस्मा बुढाथोकीले ९ बुँदे स्पष्टीकरण जारी गर्दै सम्पूर्ण आरोपहरूको खण्डन गरेकी छन्। उनले आफू र आफ्नो बिरामी आमासहितको परिवारलाई ब्ल्याकमेलिङ गरिएको र हराएको/चोरी भएको चेकमा किर्ते हस्ताक्षर गरी करोडौँ रुपैयाँ दाबी गरिएको गम्भीर आरोप लगाएकी छन्।
यसैबीच, भक्तपुरकी कुस्मा बुढाथोकीले तामाङले लगाएको आरोप सरासर झुटो भएको र यस विषयमा राष्ट्रिय मानवअधिकार आयोगमा लिखित उजुरीसमेत दिइएको धादिङ न्यूजलाई बताएकी छिन्। आशिकासँग जर्मनीमा भेट भएको र थोमसलाई चिनजान गराइदिएको कुरा सत्य भए पनि त्योबाहेक अरू सबै कुरा काल्पनिक रहेको उनको भनाइ छ। शक्तिको आडमा गरिएको उदण्डताका कारण आफ्नो र परिवारका सदस्यहरूको जिउज्यान नै जोखिममा पर्दै गएको बुढाथोकीले दाबी गरेकी छन्।
कुस्माले सार्वजनिक गरेको स्पष्टीकरण र दाबीहरू यस प्रकार छन्:
-
सम्बन्धको आरोप झुटो: १७ वर्षअघि आफू १८ वर्ष पूरा नभएको नाबालक अवस्थामा आफ्नै आमाबुबासँग बस्दै आएको र जीवनप्रसाद बास्कोटासँग ‘लिभिङ टुगेदर’ मा बसेको भन्ने दाबी पूर्णतः झुटो रहेको उनको भनाइ छ। बास्कोटाले परिवारमा सबै छोरीहरू मात्र भएको र बुबाआमा बिरामी रहेको मौका छोपेर उल्टै २ करोड ८ लाख रुपैयाँ लगिसकेको र त्यसको बैंक स्टेटमेन्ट प्रमाणका रूपमा प्रहरीमा बुझाइसकिएको उनले बताएकी छन्।
-
भेट र चेक प्रसङ्गमा विरोधाभास: सांसद तामाङले १७ वर्षअघि जर्मनीमा भेट भएको कुरा सामाजिक सञ्जालमा स्वीकार गरेको प्रसङ्ग जोड्दै कुस्माले प्रश्न गरेकी छन्— “त्यसो हो भने के मैले १७ वर्षअघि नै चेक दिएकी थिएँ?”
-
जर्मनीको कानुनी प्रक्रिया: जर्मनी कडा कानुन भएको देश रहेको उल्लेख गर्दै १७ वर्षसम्म यति ठूलो रकम (१ लाख २८ हजार युरो) को विषयमा कुनै उजुरी नपरेको तर अहिले सांसद बनेपछि मिडियाबाजी गरिएको कुस्माको आरोप छ। उनले आफूले जर्मन दूतावासमा समेत निवेदन दिइसकेको र दोषी ठहरिए सजाय भोग्न तयार रहेको स्पष्ट पारेकी छन्।
-
चेक किर्ते र चोरीको आरोप: आफ्नो हराएको चेकबुकका पानाहरू दुरुपयोग गरी एउटा पानाबाट १ करोड ८५ लाख र अर्को पानाबाट १ करोड ३५ लाख रुपैयाँ निकाल्न बैंकमा पठाइएको कुस्माको दाबी छ। हस्ताक्षर नमिल्दा र चेक पूर्व-सूचित रूपमा ‘स्टप’ रहेकाले रकम जोगिएको तर सांसद आशिका तामाङको हातमा अर्को चेक कसरी पुग्यो भन्ने विषय गम्भीर छानबिनको दायरामा हुनुपर्ने उनले बताएकी छन्।
-
४२ लाखको ऋणबाट ४ करोडको दाबी: ४२ लाख रुपैयाँको लोन अकाउन्ट देखाएर ४ करोड रुपैयाँ दाबी गरिएको र दुवै चेकमा लेखिएको अक्षर तथा नम्बरको ढाँचा एउटै हातको रहेको उनको भनाइ छ। सामान्य जाँचले समेत यसलाई ९९ प्रतिशत धोखाधडी देखाएको दाबी कुस्माले गरेकी छन्।
-
प्रहरी र परिवारमाथि दबाब: गत ६ जुलाईमा आफ्नो परिवारले दर्ता गर्न खोजेको किर्ते तथा ठगीसम्बन्धी उजुरी प्रहरीले दर्ता नगरेको र आफ्नी ६२ वर्षीया गम्भीर बिरामी आमा र २१ वर्षीया बहिनीलाई मानसिक यातना दिइएको आरोप उनले लगाएकी छन्।
-
राजनीतिक शक्तिको दुरुपयोग: आफ्नो परिवार रास्वपा, सभापति रवि लामिछाने तथा काठमाडौँका मेयर बालेन शाहको समर्थक रहेको भए पनि सत्ता र शक्तिको आडमा आफ्नो परिवारमाथि थिचोमिचो गरिएको र करोडौँको चेक किर्ते गरेर चरित्रहत्या गरी मुद्दा फिर्ता लिन बाध्य पार्ने रणनीति अपनाइएको कुस्माको आरोप छ।
-
फरेन्सिक जाँच र नागरिकताको प्रश्न: सांसद आशिका तामाङ, जीवनप्रसाद बास्कोटा र दिलिप उप्रेती निर्दोष भए राजनीतिक शक्तिको दुरुपयोग नगरी प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने कुस्माको माग छ। विवादित चेकहरूलाई फरेन्सिक ल्याबमा पठाएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने र सांसद तामाङले जर्मन नागरिकता त्यागे/नत्यागेको विषयमा समेत जनतासामु स्पष्ट पार्नुपर्ने उनले उल्लेख गरेकी छन्।
नेपालकी बहालवाला सांसद आफ्ना विदेशी श्रीमान्को विगतको आर्थिक हिसाब खोज्दै कानुनी मैदानमा ओर्लिनु र अर्को पक्षले किर्ते तथा ब्ल्याकमेलिङको आरोप लगाउँदै फरेन्सिक जाँचको माग गर्नुले यो प्रकरण अहिले चौतर्फी रूपमा निकै पेचिलो र चासोको विषय बनेको छ।








https://shorturl.fm/y4Jr6
https://shorturl.fm/WjhTf