धादिङमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू सम्मानित, असार महिनाको ‘बेस्ट पुलिस’ अजय कुमार कुर्मी

167 पटक पढिएको

८ श्रावण २०८३, शुक्रबार २०:०७ सम्पादक: धादिङ न्यूज

धादिङ, ८ साउन । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेको छ। कर्तव्यनिष्ठ, व्यावसायिक र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन गर्ने नीति अनुसार प्रहरी सहायक निरीक्षक अजय कुमार कुर्मीलाई असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गर्दै पुरस्कृत गरिएको हो भने अन्य दुई प्रहरी हवल्दारहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।

असार महिनाको ‘बेस्ट पुलिस’ घोषित प्रहरी चौकी जोगिमाराका प्रहरी सहायक निरीक्षक अजय कुमार कुर्मीले राजमार्ग सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य प्रदर्शन गरेका थिए। उनले गत असार २३ गते बेनिघाट रोराङ गाउँपालिका-९ जोगिमारास्थित पृथ्वी लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागू औषध ट्रामा हाइड्रोक्लोराइडसहित दुई जनालाई पक्राउ गर्न सफल भएका थिए। यसबाहेक असार १५ गते ९० हजार रुपैयाँ बराबरको भ्याट बिल नभएका वाइफाइ राउटर र एडप्टर नियन्त्रणमा लिनुका साथै पृथ्वी लोकमार्गको जवाङखोलामा पटक-पटक पहिरो गएर राजमार्ग अवरुद्ध हुँदा पहिरो पन्छाउने र यातायात सुचारु गराउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङको कार्य सम्पादनलाई उत्कृष्ट बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी हवल्दार नगेन्द्र महतो र प्रहरी चौकी मलेखुमा कार्यरत प्रहरी हवल्दार राजेश कुमार लामा तामाङलाई पनि नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ। हवल्दार लामा तामाङले जेन-जी आन्दोलनको क्रममा भरतपुर कारागारबाट भागी फरार भएका लागू औषध मुद्दाका दुई जना प्रतिवादीहरूलाई असार १५ र १६ गते नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा बुझाउन उल्लेखनीय भूमिका खेलेका थिए। प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र पेसागत दक्षता अभिवृद्धि गर्न उत्कृष्ट कार्य गर्नेहरूलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।