धादिङमा लागूऔषधविरुद्ध प्रहरीको कडा अपरेसन-एक वर्षमै ८४३ किलोभन्दा बढी गाँजा बरामद, ७० जना पक्राउ
122 पटक पढिएको
धादिङ,९ साउन । पृथ्वी राजमार्ग तथा आसपासका पहाडी मार्गलाई ओसार पसारको मुख्य केन्द्र वनाएर सञ्चालन हुँदै आएको लागूऔषधको अवैध ओसारपसार, खरिद–बिक्री र वितरणविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको विशेष अभियान प्रभावकारी देखिएको छ। एक वर्षको अवधिमा प्रहरीले ८४३ किलोभन्दा बढी गाँजासहित ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषध बरामद गर्दै ७० जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार गत आर्थिक वर्षभरि सञ्चालन गरिएको विशेष सुराकी परिचालन, चौबीसै घण्टा निगरानी तथा पृथ्वी राजमार्ग केन्द्रित सघन चेकजाँच अभियानका क्रममा ८४३ किलो ४३५ ग्राम १३० मिलिग्राम गाँजा, २ किलो ९८८ ग्राम ५२० मिलिग्राम चरेश, ५१ किलो ५०० ग्राम अफिम, १४ ग्राम ८९० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) तथा ७८ हजार ४०८ क्याप्सुल प्रतिबन्धित ट्रामाडोल बरामद गरिएको छ।
प्रहरीका अनुसार लागूऔषध कारोबारीहरूले प्रहरीको निगरानी छल्न अत्यावश्यक सेवामा प्रयोग हुने एम्बुलेन्सदेखि भारतीय नम्बर प्लेटका मालवाहक ट्रकसम्म प्रयोग गर्ने गरेको पाइएको छ। अभियानका क्रममा लागूऔषध ओसारपसारमा प्रयोग भएका चार वटा मोटरसाइकल, एक स्कुटर, एक एम्बुलेन्स, एक अटो, एक मिनी ट्रक र एक भारतीय नम्बरको ठूलो ट्रक नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ।
धादिङका दुर्गम क्षेत्रबाट सङ्कलन गरिएको गाँजा तथा अफिम काठमाडौँ उपत्यका हुँदै भारतीय बजारसम्म पुर्याउने संगठित सञ्जालमाथि प्रहरीले निरन्तर निगरानी बढाएको जनाएको छ। त्यस्तै भारतबाट अवैध रूपमा भित्रिने ट्रामाडोल, डाइजापाम, नाइट्राभेट लगायतका नियन्त्रित औषधिहरू पृथ्वी राजमार्ग हुँदै विभिन्न स्थानमा लैजाने क्रममा जोगीमारा, खानीखोला, गजुरी र मलेखु क्षेत्रमा सञ्चालन गरिएको चेकजाँचबाट उल्लेख्य मात्रामा बरामद गरिएको प्रहरीको भनाइ छ।
लागूऔषध नियन्त्रण अभियानका क्रममा पक्राउ परेका ७० जना विरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट म्याद थप गरेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री–वितरण र प्रयोगविरुद्ध प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ र बरामदमा मात्र सीमित नरही समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यालय, कलेज तथा स्थानीय समुदायमा लागूऔषधविरुद्ध सचेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको छ। सीमा क्षेत्र तथा पृथ्वी राजमार्गका संवेदनशील स्थानहरूमा सादा पोसाकका प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले लागूऔषधको अवैध कारोबारले विशेष गरी युवा पुस्तालाई गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको प्रभावकारी नियन्त्रणका लागि स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। आगामी दिनमा पनि अवैध लागूऔषध नियन्त्रणका लागि अझ सशक्त, प्रभावकारी र पारदर्शी अभियान सञ्चालन गरिने उहाँको प्रतिबद्धता छ।








https://shorturl.fm/fmjVv
https://shorturl.fm/JmSGf