सांसद आशिका तामाङको दबाबपछि अवैध बालुवा उत्खननविरुद्ध प्रहरीको एक्सन

191 पटक पढिएको

१० श्रावण २०८३, आईतवार २२:३९ सम्पादक: धादिङ न्यूज

धादिङ, १० साउन । धादिङको गजुरी गाउँपालिका–६ बेल्खु क्षेत्रमा त्रिशूली नदीबाट राज्यलाई राजस्व नतिरी भइरहेको अवैध बालुवा उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय धादिङले कडा कदम चालेको छ। ठूला मेसिन प्रयोग गरेर हुने अवैध उत्खननमा प्रशासन मौन बसेको तर डोको–नाम्लो बोकेर बालुवा निकाल्ने मजदुरमाथि मात्रै कारबाही गरिएको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले बेल्खुमा नदीबाट रातिको समय पारेर बालुवा ओसारपसार हुने बाटो आइतबार मेसिन लगाएर भत्काएको हो।

प्रतिनिधिसभा सदस्य आशिका तामाङको निरन्तर दबाबपछि धादिङका प्रहरी प्रमुखको निर्देशनमा उक्त बाटो भत्काइएको हो। अब सो क्षेत्रमा रातभर सुरक्षाकर्मी परिचालन गरी अवैध उत्खनन तथा ओसारपसार रोक्न निगरानी गरिने जनाइएको छ। सांसद तामाङले पनि सामाजिक सञ्जालमार्फत प्रहरीको कदमबारे जानकारी दिएकी छन्।

यसअघि प्रहरीले त्रिशूली नदीबाट हातैले बालुवा निकालिरहेका मजदुरका डोको र नाम्लो नियन्त्रणमा लिए पनि पछि फिर्ता गरेको थियो। स्थानीय मजदुरहरूले भने आफूहरूले हातैले संकलन गर्ने बालुवाले नदीलाई ठूलो क्षति नपुग्ने दाबी गर्दै नदीमा बगेर खेर जाने बालुवा संकलन गर्न पाउनुपर्ने माग राख्दै आएका छन्। उनीहरूले ठूला मेसिनबाट हुने दोहन रोक्दै वास्तविक मजदुरको रोजीरोटी जोगाउन राज्यले उचित व्यवस्था गर्नुपर्ने बताएका छन्।

यसैबीच सिद्धलेक गाउँपालिका–७ का विशाल गिरीले विदेशको रोजगारी छाडेर स्वदेशमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले लगानी गर्दा स्थानीय प्रशासन र पहुँचवालाको दबाब खेप्नुपरेको आरोप लगाएका छन्। उनले कानुनको दायराभित्र रहेर व्यवसाय गर्न पाउने वातावरण सुनिश्चित गरिदिन माग गर्दै यदि आफूबाट कानुनविपरीत काम भएको भए सम्बन्धित निकायले स्पष्ट आधार सार्वजनिक गर्नुपर्ने बताएका छन्।

गिरीका अनुसार उनले ‘विशाल एण्ड भवानी सेन्ड वास प्रालि’ विधिवत् दर्ता गरी पिपलटारमा बालुवा प्रशोधन गर्ने ‘फिरफिरे’ उद्योग सञ्चालनको अन्तिम तयारी गरेका थिए। उक्त उद्योग राष्ट्रिय गौरवको आयोजना पृथ्वी राजमार्गको मलेखु–नौबिसे सडक स्तरोन्नतिका लागि निर्माण सामग्री उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको र सडक निर्माण सम्पन्न भएपछि स्वतः बन्द हुने प्रकृतिको रहेको उनको भनाइ छ। उनले गाउँपालिकाभित्र अन्य बालुवा प्रशोधन केन्द्रहरू सञ्चालन भइरहेका बेला आफ्नो उद्योग मात्रै रोक्न खोजिएको दाबी गर्दै गाउँपालिका अध्यक्षले व्यक्तिगत प्रतिशोध राखेको आरोप लगाएका छन्।

यता जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नेपाली कांग्रेस सिद्धलेक गाउँपालिका समितिको बैठकका क्रममा स्थानीय नेता विशाल गिरी र गाउँपालिका अध्यक्ष परशुराम खतिवडाबीच विवाद भएको थियो। सोही क्रममा गिरीले अध्यक्ष खतिवडामाथि हातपात गरेको आरोप लागेको छ। घटनापछि साउन १ गते अध्यक्ष खतिवडाले आफूमाथि कुटपिट तथा अङ्गभङ्गको प्रयास भएको भन्दै विशाल गिरीविरुद्ध जाहेरी दर्ता गराएपछि कानुनबमोजिम अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिएका छन्।

जिल्लाको राजमार्ग क्षेत्रमा रहेका पालिकाहरूको आन्तरिक स्रोतको मुख्य माध्यम ढुङ्गा-बालुवा नै भए पनि अधिकांश पालिकामा यो विषय सधैँ विवादित बन्दै आएको छ। यस प्रकरणले प्राकृतिक स्रोत दोहन, स्थानीय मजदुरको रोजगारी, निजी लगानीको संरक्षण र राजनीतिक विवादलाई एकैसाथ बहसमा ल्याएको छ।