पृथ्वी राजमार्गमा द्रुत उद्धारका लागि चार वटा सुरक्षा निकायलाई गजुरी गाउँपालिकाद्वारा सामग्री हस्तान्तरण

131 पटक पढिएको

१२ श्रावण २०८३, मंगलवार २१:११ सम्पादक: धादिङ न्यूज

धादिङ, १२ साउन। नागढुङ्गा–मुग्लिन सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्ग क्षेत्र तथा गजुरी गाउँपालिका भित्र हुन सक्ने सम्भावित सडक दुर्घटना र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गजुरी गाउँपालिकाले सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ।

गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँपालिका क्षेत्रभित्र कार्यरत श्री भैरव गण, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस क्याम्प आदामघाट लगायतका सुरक्षा निकायका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूलाई विपद् उद्धार तथा आकस्मिक परिस्थितिमा प्रभावकारी रूपमा परिचालन हुन आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो।

उद्धार सामग्री हस्तान्तरण कार्यक्रमले सडक दुर्घटना तथा अन्य विपद्का घटनामा तत्काल उद्धार कार्यलाई सहज, छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले गजुरी गाउँपालिकाले विपद् पूर्वतयारी, शीघ्र उद्धार तथा नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो। उहाँले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विपद् व्यवस्थापनका क्षेत्रमा आवश्यक सहयोग, समन्वय र साझेदारीलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

गाउँपालिकाले स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै विपद् व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।